असार १४, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थलीमा मादक पदार्थ सेवन अर्थात् मापसे चेकिङको लागि अत्याधुनिक मेशिन ‘बेथलाइजर’ जिल्ला ट्राफिक प्रहरी कार्यालयले पाएको छ । मन्थली नगरपालिका अझ भन्दा नगरप्रमुख रमेशकुमार बस्नेतको सक्रियातामा नगरपालिकाको तर्फबाट झिकाईएको उक्त मेशिन आज नगरप्रमुख बस्नेतको कार्यकक्षमा जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेलाई हस्तान्तरण गरिएको हो ।
यो मापसे चेकिङ् मेशिन ‘बेथलाइजर’ ट्राफिक प्रहरी मुख्यालय, रामशहपथ काठमाडौंमा रहे सँगै अन्य जिल्लाहरुको हकमा रामेछापमा मात्र प्रथम पटक उपलब्ध भएको हो । रामेछाप र काठमाडौं भन्दा बाहेक अन्य जिल्लाहरुमा हालका दिनसम्म यो मापसे चेकिङ मेशिन पुग्न नसकेको ट्राफिक प्रहरी प्रमुख पाण्डेले जनता भ्वाइसलाई बताएका छन् ।
यो मेशिनको १ लाख १६ हजार मूल्य परेको छ ।
यो मेशिनले मादक पदार्थ सेवन गरी सडकमा सवारी चलाउने व्यक्तिलाई समान्य मापसे मेशिनले चेक गर्दा रिपोर्टको लागि अस्पताल जानै पर्ने बाध्यता थियो तर अब यो मेशिनबाट सवारी चालकले सेवन गरेको अल्कोहल प्रतिशत छुट्याउन अस्पताल पुग्नु पर्ने झण्झटबाट मुक्त गरिदिएको छ ।
नेपालमा नै दोस्रो अभ्यासको रुपमा रामेछाप भित्रिएको यो मेशिनलाई हाल रामेछापमा भएका ट्राफिक प्रहरीहरुले संचालन गर्न नसक्ने ट्राफिक प्रहरी प्रमुख पाण्डेले बताए । आज प्राप्त भएको मेशिनको बारेमा बोल्दै पाण्डेले भने, ‘मलाई मन्थली नगरपालिकाले ट्राफिक प्रहरीको लागि कस्तो समस्या रहेको छ ? भन्दा मैले यो मेशिनको माग गरको थिएँ । आज हात परेको छ । यसका लागि मन्थली नगरपालिकाप्रति निकै आभारी छु ।
यो मेशिन चलाउन यतिबेला हाम्रा साथीहरुले सक्नुहुन्न । तर मैले उहाँहरुलाई यो मेशिनको प्रयोगको बारेमा सिकाउँछु । मैले विगतको दिनमा पनि यो मेशिन प्रयोग गरेको कारण आफूले सिकेको सीप र पाएको प्रविधिलाई उच्चतम् सदुपयोग हुनेछ ।’
पाण्डेको भनाई अनुसार अबका दिनमा सडकमा मापसे चेकिङ्को प्रक्रिया झन कडा हुनेछ । हाल कोरोना भाइरस कोभिड १९ को कारण ट्राफिक प्रहरी दोस्रो व्यक्तिको कारणले संक्रमण नहुन् भनेर मापसे चेकिङ रोकिएको थियो, तर अब अवस्था सामान्य भएपछि यो मेशिनको प्रयोगले मापसे चेकिङ्मा कडाई हुने देखिएको छ ।
विगतमा जस्तो फुकेर मात्रै मापसेको जाँच हुने भएको अवस्थामा अबका दिनमा डिजिटल प्रविधिको यस बेथलाइजरबाट सवारी नम्बर इन्ट्री गरी वा सामान्य सवारीको फोटो सडकमा बसेर खिचेकै अवस्थामा यो मेशिनले मापसे जाँच गर्न सक्नेछ ।





