असार १९ । जनता भ्वाइस संवाददाता, रामेछाप
नेपालमा सहलकीराको प्रवेशसँगै रामेछाप जिल्लामा त्यसको प्रभाव परिसकेको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं. १० को चनखुमा गत असार १३ गते यसले प्रवेश गरेसँगै हालका दिनहरुमा जिल्लाभरका कृषकहरुमा त्यसको व्यापक त्रास फैलिएको छ । अफ्रिका महादेशको रैथाने कीरा समुद्रा पार गरी भारतको बाटोबाट यो कीरा नेपालमा प्रवेश गरेका हो । रामेछापमा यस प्रकारको कीरा भित्रिए पनि सो कीराले धेरै ठूलो क्षति नपुर्याउने र भोकमरी फैलिने सम्भावना नभएको कृषि ज्ञान केन्द्र (रामेछाप–दोलखा) का प्रमुख दिनेश आचार्यले बताएका छन् ।
जनता भ्वाइससँग कुराकानी गर्दै आचार्य भन्छन्, ‘यो सलहकीराले नेपालमा सोचेजस्तो क्षति पुर्याउने अवस्था देखिँदैन । किनभने यो कीराको वंशचक्र मरुभूमिको बालुवामा हुने र यसको आयु सरदर १ देखि डेढ महिना सम्मको मात्र हुने गरेका कारण यसले ठूलो क्षति नपुर्याउने अवस्था छ ।
हाम्रो देशमा यो कीराको बच्चा उत्पादन गर्नको लागि उपयुक्त वातावरण तथा अनुकूल मौसम छैन । अनुकूल मौसम नभएर बच्चा उत्पादन गर्न नपाएपछि जति कीरा आइपुगेका छन्, तिनीहरुले ठूलो क्षति गर्न सक्ने अवस्था पनि देखिँदै । अझ अर्को गतिलो पक्ष भनेको नेपालमा वर्षामौसम सुरु हुँदैछ । यस्तो मौसममा जब यो कीरा पानीमा भिज्छ, तब यो कीराले आफ्नो गति तेजिलो बनाएर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सम्भावना कम हुने हुनाले यो कीराको प्रकोप कम हुने सम्भावना छ ।’
वि.सं. २०१९ सालमा नेपालमा पछिल्लो पटक देखिएपछि यस वर्ष मात्रै यो कीराको प्रकोप देखिएको छ । त्यो समयमा यो कीरा नेपालमा आउँदा निकै धेरै क्षति पुर्याएको र त्यसपछि दोस्रो पटक यो कीरा नेपाल प्रवेश गरेको हो ।
कृषि ज्ञान केन्द्र (रामेछाप–दोलखा) क्लस्टरले सलहकीरा नियन्त्रणका लागि आवश्यक पर्ने विषादी समेत आफूहरुसँग सुरक्षित रहेको बताएको छ । मन्थली नगरपालिका १० नं. वडा चनखुमा यो कीरा देखिएसँगै अन्यत्र यसको खासै प्रभाव देखिएको छैन । सदरमुकाम मन्थलीमा पनि फाट्टफुट्ट यस प्रकारको कीरा पाइएको भएपनि त्यसले ठूलो क्षति भने गर्न पाएको जानकारी प्राप्त भएको छैन ।
सलहकीरा मान्छेले खानको लागि पनि उपयुक्त हुने आचार्य बताउँछन् । उनका अनुसार यो कीराको सेवनले मानिसको शरीरमा प्रोटिन बढाउने कार्यमा सहयोग गर्ने आचार्यको कथन रहेको छ । २०२२ सालसम्म तराईमा यो कीराको प्रकोप बढ्दा तराईबासीहरुले त्यसलाई खाने गरेको समेत आचार्यले बताएका छन् ।
रामेछाप छोडेर यो कीरा उत्तरी क्षेत्रमा प्रवेश गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । दोलखा जिल्लाको गौरीशंकर, विगु लगायतका गाउँपालिका तथा ओखलढुङ्गा तर्फ यो कीरा लागेको कारणले पनि रामेछाप जिल्लामा त्यसले ठूलो क्षति नपुर्याउने दावी कृषि ज्ञान केन्द्रको रहेको छ । आफ्नो क्षेत्रमा यस प्रकारको कीराको प्रकोप देखियो भने आफू रहेको पालिकामा सम्पर्क गर्ने र त्यसको नियन्त्रण गर्न स्थानीय पालिका तथा कृषि ज्ञान केन्द्रलाई सहयोग गर्न प्रमुख आचार्यले सबैलाई आग्रह समेत गरेका छन् ।
भिडियो सहित्