साउन ६, पूर्वी नवलपरासी ।
पछिल्ला केही दिन यता नेपालमा परिरहेका घनघोर वर्षात्का कारण बाढी तथा पहिरोका घटनाहरु सार्वजनिक भइरहेका बेला पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्क विहीन भएका छन् । उक्त पहिरोले बुलिङटार गाउँपालिका २ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शशी किरण बस्ताकोटीले जानकारी दिएका छन् ।
आफ्नै घरमा सुतिरहेका बेला उनीहरुलाई मंगलबार बिहान करिब तीन बजेतिर आएको पहिरोले घरसँगै पुरेको हो । सार्की परिवारलाई पहिरोले बेपत्ता बनाए सँगै बाख्रा र कुखुरा पनि पुरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।’
पहिरोका कारण बाटो अवरुद्ध छ, टेलिफोन सम्पर्क हुन सकिरहेको छैन, एसपी रेग्मीले भने, ‘त्यसैले घटनाको विस्तृत विवरण आइसकेको छैन ।’ यतिबेला सम्म पनि घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् । यस्तै अर्को घटनामा विनय त्रिवेणी गाउँपालिकाको भित्री सडकमा लु २ च ६१७१ नम्बरको पिकअप भ्यानलाई खहरे खोलाले बगाएको छ । खहरेको शिरमा अचानक पानी परेर खहरेमा बाढी आएका कारण उक्त पिकअप भ्यान बगाएको स्रोतले जानकारी दिएको छ ।