भदौ ०९ । जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछापको लकडाउनमा थप कडाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले केहीदिन अघि जारी गरेको सूचनामा लकडाउनको मोडललाई परिमार्जन गरेसँगै लकडाउन थप कडाई भएको हो । उक्त सूचनामा अनावश्यक सवारी साधनहरुलाई सडकमा निस्कन नदिने भन्दै गरेको कारबाहीमा आजै मात्रै ४० वटा भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
देवकोटा चोकमा बिहान ८ बजेदेखि अनावश्यक सडकमा बरालिएका मोटरसाइकलहरुलाई नियन्त्रणमा लिने कार्य थालनी भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डे बताउँछन् ।
८ बजेदेखि नियन्त्रणका मोटरसाइकलहरुलाई ११ बजेसम्म राखेर छोड्ने पाण्डेको भनाई छ ।
मोटरसाइकल नियन्त्रणमा लिएको बारे थप प्रष्ट पार्दै पाण्डे अगाडि भन्छन्, ‘आजबाटै यो कार्यको थालनी गरिएको छ । आजको लागि मोटरसाईकलहरुलाई नियन्त्रण्मा लिएर छोड्ने मात्रै गरिन्छ । भोलिदेखि अनावश्यक काम तथा तोकिएको भन्दा बाहेक सवारी साधनहरु सडकमा देखिए भने प्रति सवारी साधनलाई जरिवाना स्वरुप १ हजार ५ सय लिन्छौं ।’
कोरोना भाइरस कोभिड १९ को महामारी समुदायस्तरमा नै फैलिरहेको अवस्थामा ट्राफिक प्रहरीले गरेको यस्तो किसिमको कारवाहीलाई स्थानीयहरुले समेत स्वागत गरेका छन् ।