भदौ २० । जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछापका सहयोगी मन (रासम) को समाजसेवाको गति अझ तिव्र भएको छ । कोरोना भाइरस कोभिड १९ का कारण समाज सुतेको बेला यो समूह सुत्न चाहेन । सुत्न खोज्यो आँखा लागेन । यस्तो अवस्थामा रामेछापका युवाहरु जागे र बन्यो रामेछापका सहयोगी मन (रासम) ।
रासमले लकडाउनलाई भरपूर सदुपयोग ग¥यो । केही समय पहिला रामेछाप नगरपालिका वडा नं. ८ बिटारमा रहेको बिटार चौरलाई सुन्दर पार्क बनायो । सिर्जनामा सिँगारिएको शिरिषको फूल जस्तै सौम्य बन्यो बिटार पार्क । मन बिलासीहरुको बिश्रान्ति बन्यो, विविधताले त्यहाँ विचरण गर्यो । सुकाजोर बगरको काखमा बसेको बिटारले सगरमाथा पायो, चन्द्र सूर्य अंकित त्रिकोणात्म ध्वजाले आफूलाई सिँगार्यो ।
सुसंगठित बाहुबलको कारणले त्यहाँका बेवारिसे शिलाहरुले पत्थरीय जीवन सर्लक्कै त्यागे, अनेकन आकारहरुमा आफूलाई जीवन्त देखाए । बिटार हिजो बिजोगको टार भएको अवस्थामा आज विविधताको टार बन्यो । कोलाहलपूर्ण जीवनभन्दा पर, एउटा अलग्गै आनन्दग्राम जस्तै बिटारको स्वरुप नै बदलियो । रासमले नआँटेको भए आज बिटार, बिटारै रहन्थ्यो, जो उसले जन्मसिद्ध नाम पाएको थियो । जसरी रासम बिटार पुग्यो, त्यो सँगसँगै बिटारले आफ्नो नामलाई पर्यायवाची शब्द प्रयोग गर्न पायो बिटारको पार्क भनेर ।
बिटार पार्कको सिँगारपटार पछि रासमको मनमा समाजसेवाको अर्को सुनामी मडारियो । त्यै सुनामीमा रासमका सबैजसो युवाहरुले एकैसाथ उडान भरे । कोरोनाको कारणले सिर्जना भएको बाध्यात्मक परिस्थिति बन्दाबन्दीको गर्भबाट जन्मिएका रामेछापका सहयोगी मनहरुका सदस्यहरु यसै बन्दबन्दीमा भोकसँग सम्झौता गरिरहेका यही समाजका दुःखी गरिबहरुको दुःखसँग पौठेजोरी खेल्न लागे । कुनै एक युवाले सोचे, बन्दाबन्दीको मारमा भोकलाई सिरानी हालेर व्यञ्जनको सपना देख्नेहरुका लागि विपनामा नै दुईछाक पिठो किन नखुवाउने ? सबैले सल्लाह गरे । सल्लाह पनि मिल्यो । केही दिन अघिदेखि रासमका युवाहरु मन्थलीमा गरिब दुःखीहरुका लागि सित्तै खाद्यान्न वितरण गर्ने मनासायले फुडबैंक बनाउने धुनमा लागिरहेका छन् ।
जिल्ला समन्वय समिति अगाडि रहेकोे मन्थली नगर विकासको एउटा टहरोलाई पनि सिँगार्न भ्याए उनीहरुले । सो सुकार्यका लागि रासमका केही अगुवा सदस्यहरु अगाडि आए । स्थलगत रुपमा नियाले । उनीहरुलाई आफूहरुको सपनाको काम फुडबैंकको लागि उपयुक्त ठाउँ भेटिए जस्तो लाग्यो ।
अर्काको टहरो, अर्काको जमिन ।
हुन त त्यो सबै सामाजिक सम्पत्ति भएको संरचना थियो । सबैले मिलेर हरिविजोग अवस्थामा रहेको टहरो वरपरको फोहोरको व्यवस्थापन गरे । उम्रिएको झारपात टिपे, बढारकुँढार गरे । हेर्दाहेर्दै ठाउँ चिटिक्क बन्यो । नगर विकास समितिले टहरो प्रयोगका लागि देला या नदेला उनीहरुले सरसफाई गर्न भने कुनै कसर बाँकी राखेनन् ।
कत्ति काइदाको आइडिया । भद्रगोल अवस्थामा रहेको टहरोको वातावरणलाई चिटिक्क बनाए पछि आफूहरुको योजनाको विषयमा कुरा हाल्न उनीहरु भोलिपल्ट नगर विकास समितिमा गए । नगर विकासका अधिकारी र नगरप्रमुख रमेशकुमार बस्नेत टहरो भएको स्थलमा आए, हेर्दाहेर्दै युवाहरुले चिटिक्क बनाएको टहरो र युवाहरुको योजनाका अघि सबै नतमस्तक भए । रासमले फुडबैंकको लागि चाहेको स्थल पाएरै छोड्यो ।
फुडबैंकको लागि खाद्यान्नको संकलनमा लाग्दालाग्दै रासमका युवाहरुको आँखा मन्थलीको सेल्फी ब्रिजको रुपमा चिनिएको आकासे पुलमा गयो । बर्खाको पानीले बगाएर ल्याएको माटो तथा सवारी साधनहरुका पाँग्राले ल्याएको माटो जम्मा भएर सो पुलले आफ्नोजात बिर्सिएको थियो । यसरी आफ्नो असली अनुहार भुलेको पुलको चिनारी फर्काउन फेरि यही समूह मसक्कै कस्सियो । गत शनिबार दिउँसो २ बजेबाट यो पुलको फोहोर व्यवस्थापनमा रासम लागिरहेको छ ।
आज आइतबार । आइतबार बिहान ९ बजे मालश्रीको टिम यो समूहले आकासे पुलललाई सफा गर्दै गरेको अवस्थालाई कैद गर्न उक्त पुलतर्फ लाग्योै । हामी पुग्दा रासमका सदस्यहरु आआफ्नै काममा व्यस्त थिए । केही युवाहरु त यतिसम्म काममा डुबेका थिए की हामीले उनीहरुको सो कामको छायाँकन गरेको समेत देखेनन् । किनकी उनीहरुलाई सो कामको विषयमा भन्दा बाहेक अन्त ध्यानै थिएन ।
मन्थली ८ गाइखुराका स्थानीय युवा ओमबाबु पुरी आफ्नै नाक अगाडिको पुललाई सफा बनाउन रामेछापका सहयोगी मनका युवाहरु आएपछि यिनको मनमा पनि अलग्गै खुज्ली पैदा भयो । उनी पनि साबेल बोकेर आइपुगे रासमको कार्यस्थल आकासे पुलमा ।
रासमको टिममा देखिएका नयाँ अनुहार पुरी निकै असिन पसिन भएर पुल सफा गर्ने कार्यमा लागिरहे । जब उनले थालेको काम सकेर ढाड सिधा बनाउँदै थिए, हामीले उनलाई सुटुक्क बोलाएर सोध्यौं, ‘रासमले थालेको यस कार्यमा किन सहभागी हुन मन लाग्यो ? त्यसमा उनले भनेका छन् ‘अब प्रत्येक महिनाको एक पटक हामी यो पुलको नियमित सफाई गर्न लागि पर्नेछौं ।’
बिटार पार्कदेखि फुडबैंक सम्म आउँदा र आज आकासेको पुल सरसफाई कार्यमा धेरै सहयोगी मनहरुको सहयोग पाउँदा कस्तो अनुभूति भएको छ ? भन्ने सवाल हामीले रासमका एक जुझारु युवा जय मानन्धरलाई सोध्यौं । उनी आफूहरुको टिममा धेरै युवा साथीहरु हातमा हात काँधमा काँध मिलाएर जोडिनु भएकोमा असाध्यै खुशी भएका छन् ।
रामेछापका सहयोगी मन रासम नियमित रुपमा समाजसेवामा लागिरहने र भोलिका दिनमा रामेछापका सहयोगी मनको दायरा नेपालका सहयोगी मन (नेसम) हुनेगरी प्रगतिमार्गमा अगाडि बढ्ने कुरामा रासमका अर्का सदस्य तथा केब्स् स्कुलका प्रिन्सिपल केशव तिमल्सिना बताउँछन् ।
आकासेमा रहेको पुलको सरसफाई कार्यमा रासमका युवाहरु कोही पनि खाली बसेका थिएनन् । कुनै न कुनै काममा लागि नै रहेका थिए । सबैका माथमा पसिनाका मोती टल्किरहेको देखिन्थ्यो । असिन पसिन भएर आकासे पुललाई सफा गर्ने कार्यमा लागेका व्यक्ति मध्ये रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी नवीनकुमार थापामगरको निधारको पसिना बग्दै गर्दा उनलाई पनि हामीले रासमको हालसम्मको गतिविधिलाई कसरी हेरिरहनु भएको छ ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘रामसले गरको काम विशुद्ध समाजिक सेवा भावले गरेको हो । यस्तो अवस्थामा हामी सबै रामेछापेली रासम हौं । हामीले आफ्नो मात्रै भन्दा पनि अरुको ओठको हाँसो देख्ने कार्यका लागि पनि अगाडि बढ्नु पर्छ ।’
रासममा धेरै युवाहरुको मेल छ । किनभने यो समूहमा कुनै पनि राजनैतिक विचारले हालका दिनसम्म प्रवेश पाएको छैन । जुनसुकै धर्म, भाषा, जाति, लिङ्ग, सम्प्रदाय, प्रोफेशन, वर्ण जे भएपनि हालका दिनसम्म यहाँ युवाहरु अटाउन सफल भएका छन् । रामेछाप जिल्लालाई मात्रै हेर्ने हो भने राजनैतिक पार्टी र झण्डा भन्दा बाहिर बसेर युवा एकता भएको सायदै यो पहिलो समूह हो । जो यसरी समाज सेवामा खटेको छ । व्यवसायीदेखि शिक्षक, पत्रकार, नागरिक समाज, कृषक सबै क्षेत्रको आकार यहाँ आएर निराकार भएको छ ।
यसै मध्येमा रामेछापका युवा पत्रकार अप्रिल अधिकारी पनि रासमको सुरुकै जागरुकता सँगै जागेका युवा हुन् । पत्रकारिताको पोकोलाई एकातिर थन्क्याएर उनी पनि यहाँ पुलको सफाईमा खटेका देखिन्छन् । उनलाई पनि हामीले सोध्यौं ‘बन्दबन्दीको अवस्थामा जन्मिएको रामेछापका सहयोगी मन देश बन्दाबन्दी मुक्त भएर समान्य अवास्थामा फर्किएपछि पनि यस्तै जुझारु हुन्छ त ? भन्ने सवालमा उनी भन्छन्, ‘निष्चय नै । हामी लकडाउनको समयमा मात्रै होइन, समाज सेवाको भावमा जतिबेला पनि तयार हुन्छौं र हुनुपर्छ पनि ।’
आफू बस्ने टोल, गाउँ सँधै आफैंले सफा राख्नु पर्ने धारणा रासमका अर्का सदस्य तथा व्यवसायी नवराज श्रेष्ठ बताउँछन् । आफ्नो टोल गाउँलाई वर्षमा कम्तिमा २ दिन मात्रै भएपनि समाजसेवाको भावले काम गर्नुपर्ने उनको भनाई रहेको छ ।
राज्यले युवाहरुलाई समेट्न नसकेको आरोप त जुनसुकै पार्टीको सरकार बन्दा पनि उठिरहने नै विषय हो । सदन र सत्ता जहाँ कुरा उठेपनि युवाहरुलाई पार्टीको भक्त बनाउने, चुनावमा भोट झार्नको लागि प्रयोग गर्ने तथा आफू सत्तामा उक्लिनको लागि भर्र्याङ बनाउने भन्दा बाहेक कुनै पनि नेतृत्वको सोचको विकास भएको देखिएन । राजनीतिको मूलधारमा युवाहरुलाई ल्याउने तथा राज्य संचालनको बागडोर युवाको हातमा सुम्पिने भन्ने गफै मात्र चलिरहे । ७० वर्षको उमेर सम्म युवा नेता हुने लालसा पाल्ने र वृद्धावस्थामा प्रवेशै नगरी युवावस्थामा नै मर्न चाहने कुनैपनि पार्टीको नेतृत्वमा सर्वमान्य युवा उमेर समूहका नागरिक सँधै बच्चा नै बनिरहनु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना भइरहेको छ ।
रासमले आकासे पुल सरसफाई गर्न लाग्दा मन्थली ८ गाइखुराका कुखुरा पालक युवा कृषक अम्बिका माझीले आवश्यक सहयोग गरेको रासमले जनाएको छ ।
पुलको सफाई कार्यको समाप्तीसँगै रामेछापका सहयोगी मनका युवाहरु मन्थली फुडबैंकका लागि आवश्यक खाद्यान्न जुटाउने काममा लाग्ने उनीहरुकको तयारी छ ।