भदौ २९ । जनता भ्वाइस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आगामी १४ औं महाधिवेशन निष्पक्ष ढंगबाट सम्पन्न हुनेमा शंका उत्पन्न भएको बताएका छन् ।
पार्टीका केन्द्रीय पदाधिकारी, जिल्ला नेतृत्व साथै आम कार्यकर्ताहरुले नै आगामी महाधिवेशन निष्पक्ष हुन नसक्ने बताइरहेका बेला यसतर्फ सबै सचेत हुनुपर्ने बताएका हुन् । सोही प्रशिक्षण कार्यक्रममा कम्युनिष्ट सत्ताले संविधान र संघीयता सिद्ध्याउनै लागेको कांग्रेस उपसभापति बिमलेन्द्र निधीको आरोप लगाए ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्बर १ अन्तर्गतको मेची अन्चलका नेता कार्यकर्ताहरुसँगको जुम प्रशिक्षणका क्रममा नेता सिटौलाले १४ औं महाधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयन हुन सक्ने अवस्था पनि नरहेको औंल्याए ।
नेता सिटौलाले यस्तै तरिकाले पार्टी नचल्ने भएकाले देशको संरक्षकका रुपमा भूमिका निर्वाह गर्न पार्टीको नवजीवन आवश्यक रहेको बताए । अबको नेतृत्वले बामपन्थीलाई मत दिएका जनताको मन जित्न र देशको संरक्षक बन्न जरुरी रहेको औल्याए । उनले तुरुन्तै केन्द्रीय समिति बैठक ढाकेर महाधिवेशनको खाका तयार गर्न र देखिएका समस्या समाधान गर्न जरुरी रहेको बताए ।
फरक प्रशंगमा नेता सिटौलाले कम्युनिष्ट सरकार शासन प्रणालीलाई अधिनयावादतर्फ उद्दत रहेकाले यसलाई रोकेर लोकतान्त्रीक शासन व्यवस्थालाई स्थापित् गर्न कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताए ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न पार्टीलाई प्रविधिमैत्री बनाउँदै युवाहरुलाई आकर्षित गर्नुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य भिष्मराज आङदम्बे, सरिता प्रसाइँ, नेता केशव कुमार बुढाथोकी झापाका सभापति सुधिर सिवाकोटी, इलाम जिल्लाका सभापति हिमालय कर्माचार्य लगायतले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै नेपाली काँग्रेसका नेता शङ्कर भण्डारीले पार्टीलाई पुनःजीवित गराउन आवश्यक रहेकोमा जोड दिएका छन् । आज तनहुँको दमौलीमा उनले कमजोर बन्दै गएको पार्टीलाई बलियो बनाउन पुनःजीवित र पुनःसङ्गठनको आवश्यकता रहेको बताएका हुन् । पूर्वमन्त्री समेत रहेका भण्डारीले काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताए ।
काँग्रेसले स्पष्ट नीति बनाउन नसक्ने र आफ्नै मौलिकता र पहिचान जोगाउन नसक्ने हो भने काँग्रेस समाप्त हुने पनि उनले चेतावनी दिए । उनले राष्ट्रवादी शक्तिलाई जोड्न नसके काँग्रेस पनि समाप्त हुने र काँग्रेस समाप्त हुँदा लोकतन्त्र पनि समाप्त हुनेतर्फ सचेत गराए । नेपाली काँग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले सुशासन र पारदर्शीतामा सरकार कमजोर रहे पनि प्रमुख प्रतिपक्षी दलले सरकारविरुद्ध आवाज उठाउन नसकेको बताएका छन् ।