साउन ३२
रामेछापको लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँमा विद्युत लाइन विस्तारको क्रममा भएको आर्थिक अनियमितताको विषयमा अध्ययन गर्न जिल्ला स्तरीय टोली गत शुक्रबार दुरागाउँमा पुगेर निरिक्षण गरेको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी, प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराई, नेपाल विद्युत प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख विनोद अधिकारी नेकपका नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका सचिव लेखबहादुर कार्की, पत्रकारहरु लगायतको टोलीले विद्युत लाई विस्तार कार्यको स्थलगत अनुगमन गरेको थियो ।
लिखु तामाकोसी गाउँपालिकाको सो वडामा विद्युत लाइन विस्तारको क्रममा १२ करोड भन्दा बढी खर्च भएको भन्दै गाउँपालिका अध्यक्ष गोविन्द खड्काले गत वर्ष विनियोजन गरेको रकमबाट थप ६ करोड रुपैयाँ अपुग भएकोले रकम छुट्याउन गाउँ सभामा प्रस्ताव लगेपछि विवाद भएको थियो । सो विवादको क्रममा अध्यक्षले आक्रमणको प्रयाश गरेको भन्दै प्रमुख प्रशासकिय अधिकृत, उपाध्यक्ष र ६ जना वडाअध्यक्ष सहित १० जना कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गरेका थिए । लिखु तामाकोसी गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।