मंसीर १४ । सविना कार्की, रामेछाप ।
कृषिको प्रचुर सम्भावना बोकेको पालिका गोकुलगंगालाई कृषिमय बनाउन वा गाउँमै व्यवसायिक खेती गरी उक्त पालिकालाई आर्थिक समृद्धिमा लैजानका निमित्त सोही गाउँपालिका वडा नं. ३ रस्नालुका वडाध्यक्ष नरविक्रम कार्की अत्यन्तै मेहनतका साथ जागरुक भएर लागि परेका छन् ।
यस वडामा अनेकौँ उद्योग धन्दादेखि लिएर कृषिको सम्भावना रहेको आफ्नो पालिकालाई देख्दा उनको मनमा यस्तो उर्जा र उत्साह छाएको हो । उनले वडामा रहेका लगभग ७० प्रतिशत कामहरु सम्पन्न गरिसकेका छन् । आफू वडाध्यक्ष पश्चात विभिन्न प्राईभेट कम्पनीहरू भित्र्याई ३ हजार रोपनीमा आलु खेती र ६ सय रोपनीमा किवीका दाना समेत यो मौसममा फलाउन सफल भएका छन् । आफुलाई यो कामका लागि पालिका अध्यक्ष, उपाध्यक्ष, सिङ्गो कार्यपालिका तथा सरोकारवालाहरूले भरपुर सहयोग गरेको उनि बताउछन् ।
कार्की आफ्नो वडामा गरिएको खेतीबाट राम्रो उत्पादन भएको देखेर अत्यन्तै खुसि लागेको बताएका छन् । उनी भन्छन्
‘वडाभित्र रहेका निम्न आयस्तर भएका मानिसहरुलाई आर्थिक समृद्धिको बाटो देखाउनका निमित्त ९० प्रतिशत अनुदानमा ८२ घरधुरीलाई एक घर बराबर २ वटा बङ्गुरका पाठापाठीहरु वितरण गरेको छु । यो वर्षपनि १८ लाखको कार्यक्रम रहेको छ, त्यो रकम समेत यस्तै कामका लागि प्रयोग हुनेछ । फेरि पनि बङ्गुरका पाठापाठी वितरण गर्ने छौ । यस्तो कार्यले निम्न आयस्तरमा रहेका व्यक्तिहरुलाई केही माथी उठ्ने मौका मिलेको छ ।’
सिङ्गो वडालाई नै आर्थिक समृद्धि मार्फत कृषिमय वडा बनाउने ठूलो लक्ष्य लिएका कार्कीले अन्य नागरिकहरूलाई कृषिकार्यमा संलग्न हुन अनुरोध गरिरहेका छन् ।
भावी दिनहरुमा सबैले आ-आफ्नो व्यवसाय संचालन गर्न सकुन् भन्ने उनको उद्धेश्य हो । उनले आफ्नो कार्यकालभित्र गाउँमा भएका हरेक अप्ठ्याराहरुलाई सुल्झाउनका निमित्त टोलटोलमा सडक पुर्याएर कुनै बिरामी पर्दा पनि हरेक व्यत्तिहरुको घरघरमा नै एम्बुलेन्स पुग्नेगरी सडको विस्तारको काम सम्पन्न गरेका छन् । यस्ता कार्यलाई निरन्तर अगाडि बढाएर व्यवसायिक खेती संचालन गरी वडालाई कृषिमय बनाउने उनको लक्ष्यलाई पुरा गर्नका लागि स्थानीय व्यक्ति, गाउँपालिका अथवा जुनसुकै ठाउँ वा व्यक्तिहरुको ठूलो सहयोग रहेको उनको भनाई छ ।
अध्यक्ष कार्कीको अनुसार उनले देखेको कृषीमय वडा निर्माणका लक्ष पुर्तीका लागि स्थानियहरूले समेत २०० भन्दा बढि कृषी फार्महरू दर्ता गरि केहिले काम समेत सुरु गरिसकेका छन् ।