रामेछापमा लिंगेपिङ हाल्ने र खेल्ने परम्परा विस्तारै हराउदै गएको छ ।
केहि वर्ष अघिसम्म प्रत्येक टोल टोलमा लिंगेपिङ हाल्ने र खेल्ने चलन थियो । टीकाको दिन मान्यजनबाट टीका जमरा लगाएपछि एक पटक पिङ खेल्नै पर्छ र धर्ती छोड्न पर्छ भन्ने मान्यता थियो ।
दशैँ भन्ने वित्तिकै धेरैलाई गाउँघरमा हालिने लिङ्गेपिङकोे याद आउथ्यो र आउँछ । एक समय दसैं तिहारमा ग्रामिण भेगमा लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो ।
बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ ।
पहिले पिङ खेल्न गाउँका सबै जम्मा हुने, दुःख सुख बाढ्ने चलन रहेको थियो । तर पछिल्लो केहि दशक यता दशैँमा पिङ देख्नै मुस्किल हुने गरेको छ । मानिसहरु आफ्नै मोवाइलमा भूल्ने कारणले पिङ हाल्ने र खेल्नेहरु कम हुँदै गएका छन् । दसैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक लिङ्गेपिङ खेल्ने र रमाइलो गर्ने परम्परा हराएको प्रति बूढापाका र यूवा पुस्ताका केही भने दुःख लागेको बताउँछन् । पौराणिक कथा अनुसार भगवान कृष्णको पाला भन्दा अगाडि देखि पिङको विकास भएको बताइन्छ ।
धर्मशास्त्र अनुसार दशैँसँग पिङको विषेश महत्व जोडिएको छ तर यूवा पिडीहरु विदेशिने क्रम बढेसँगै दशैमा पिङको चलन हराउदै जान थालेको धर्मशास्त्रविद् डा. रामचन्द्र गौतम बताउनुहुन्छ । पिङ र दशैँको धार्मिक कथन एकातिर छ भने अर्को तर्फ यसलाई नेपाली समाजको मौलिक संस्कृतिको रुपमा समेत चित्रण गरिन्छ । तर पछिल्लो समय पिङ्सँग जोडिएको परम्परा हराउँदै जान थालेको छ ।