रामेछाप । एउटा हातले पसिना पुछ्दै अर्को हातले अभ्यास पुस्तिकामा धमाधम लेख्दै गरेको भेटिइन सलिना श्रेष्ठ । उनि सँगै अर्को बेन्चमा बस्ने रोशन नेपाली पनि अनुहार रातोपिरो बनाउँदै कापीका पन्ना भर्दै भेटिए । सलिना र रोशन शिव आधारभूत विद्यालय को कक्षा ७ मा पढ्छन । विद्यालयमा पर्याप्त पक्की भवन नहुँदा २०७२ को भूकम्प पछि बनाईएको टहरामै ज्ञानको ज्योती बटुलीरहेका छन सलिना र रोशन जस्ता अरु बालबालिकाहरू पनि ।
रामेछापको उतरी भेगमा रहेको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ शिवालयमा बिद्यार्थीहरु अझै जस्ताको टहरामा बसेर पढ्न बाध्य छन् । पहुचको आधारमा निर्माण गरिएका धेरै बिद्यालयका भवनहरु खाली रहेको बेला शिव आधारभुत बिद्यालयमा भने बिद्यार्थी भएपनी भवन नहुदा पठन पाठनमा समस्या आएको छ । भूकम्पपछि रामेछापको गोकुलगंगा गाउँपालिका १ शिव आधारभूत विद्यालयका विद्यार्थीहरुले अहिले सम्म पनि पक्की कोठामा बसेर पढ्न लेख्न पाएका छैनन् ।
भवनको अभाबमा अहिले पनि ति बाल बालिकाहरु जस्ताको टहरोमुनि बसेर पढ्न बाध्य छन् । विद्यालयमा पक्की भवनको त कुरा छाडौ उनिहरुका लागि पानी छेक्ने छानो र हावा छेक्ने पर्खाल समेत नहुँदा विद्यार्थीहरुले पठन पाठनको लागि कष्ट सहनु परेको छ । जस्ताको छानोबाट चिसो मौसममा चुहिने सितका थोपा र गर्मिले तात्ने जस्ता र हिउँद लागेपछि बालुवा उडाएर ल्याउने चिसो सिरेटोमा लगलग कामेको भरमा पढ्नु पर्ने विद्यार्थिको लागि बाध्यता छ ।
शिवालयमा त्यसै पनि धेरै जाडो हुन्छ । समुद्र सतहदेखि २ हजार मिटरभन्दा माथि पर्ने शिवालय खिम्ती खोलाको तिरमा छ । खोलाको तिरमा वहने हावाले अझ चिसो थप्छ । धुलो नछेकिँदा डेक्स बेन्च धुलाम्मे हुने गरेका छन् ।
‘हामीले जस्ताको टहरोबाट गतिलो ओत लाग्ने भवन पाएनौं’ प्रधानाध्यपक विपीन राज बस्नेतले भने । विद्यालयका लागि एउटा पक्की भवन निर्माण भएको छ । जुन भवनमा शिशु कक्षाका बालबालिका राखेर पढाउने गरिएको छ । ठूला कक्षाका विद्यार्थीहरू भने सबै जस्ताको टहरामै छन् ।
विद्यालयमा कुल १ सय ५५ जना विद्यार्थी अध्ययन गर्छन् । विद्यार्थी नभएका विद्यालयहरुमा ठूला भवन निर्माण भएका छन् । भूकम्पपछि पुनर्निर्माण भएका विद्यालय भवन अधिकांश स्थानमा खाली नै छन् । ‘पहुंचको भरमा विद्यालय भवन निर्माण गर्ने होडबाजी चलेको बेला सरकारले शिवालयको जस्ताको छाप्रो देखेन – स्थानीय राजन कार्कीले भने । उनि थप्छन्– अब पुनर्निर्माणको अवधि पनि सकियो, विद्यालय भवन निर्माण हुने कुरा पनि ओझेलमा पर्दै गयो ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्लाका २ सयभन्दा बढी विद्यालयमा सुविधासम्पन्न आधुनिक भवन निर्माण गरेको छ । प्राधिकरणको खारेजीसँगै विद्यालय भवन पुनर्निर्माणको कार्यक्रम रोकिएकाले शिव प्राविले अन्य निकाय गुहार्नु परेको छ ।