रामेछाप । भैसेस्वर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आज शुक्रवार आफ्नो भवन उद्घाटन गरेको छ । मन्थली वडा नम्बर १ मा रहेको खानेपानी भवनको उद्घाटन मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले गरेका हुन् । नगरप्रमुख श्रेष्ठले समितिले गरेको कामको प्रशंसा गर्दै नगरपालिकाको साथ सधैँ रहने समेत बताए । नगरप्रमुख श्रेष्ठले भने- तपाइहरूको काम उदाहरणीय छ, नगरपालिका समितिको आवश्यकताको आधारमा सहयोग गर्न तयार छ ।
२०५६ सालमा स्थापना भएको भैसेस्वर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले १० हजार लिटर सम्म १ सय ६० घर धुरीलाई निःशुल्क खानेपानी वितरण गर्दै आएको छ । समितिले भवन उद्घाटनको अवसर पारेर सहयोग दाताहरूलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।





