बर्दिबास छन्द चौतारीले साहित्यिक सभाको आयोजना गरी कीर्ति शेष साहित्यकार पेशल आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। मोरङको विराटनगरमा वि. सं. २०२३/०४/१५ मा बुबा श्याम आचार्य र आमा शोभा आचार्यको जेठो सुपुत्रको रूपमा जन्मनुभएका साहित्यकार पेशल आचार्यका धर्मपत्नी गीता दाहाल आचार्य, दुई छोरी र एक छोरा हुनुहुन्छ। रामेछापलाई कर्मथलो बनाएर लामो समयदेखि शिक्षण/प्राध्यापन पेसामा संलग्न रहनुभएका आचार्यको परिवार रामेछापको मन्थलीका स्थायी बासिन्दा हुन्। आचार्यले त्रि.वि.वि. बाट नेपालीमा एम.ए र बिए.ड सम्मको शिक्षा हासिल गर्नुभएको थियो।
एउटा असल शिक्षक, असल प्राध्यापक र असल साहित्यकार पेशल आचार्यको साहित्यिक यात्रा २०३६ सालको ‘ सडक कविता क्रान्ति ‘बाट प्रभावित भएर सुरु भएको हो। कक्षा ६ मा पढ्दै गर्दा साहित्यमा कलम चलाएका आचार्यले वि.सं. २०४० अर्थात् १७ वर्षकै उमेरमा पहिलो कृति जन्माउनु भएको हो। रामेछाप जिल्लाका पुराना भाषा शिक्षक र क्रियाशील कवि, निबन्धकार, भूमिकाकारका साथै कथाकारका रूपमा परिचित आचार्य कथा, कविता, निबन्ध लगायतका विभिन्न विधाका करिब ३० वटा कृतिका स्रष्टा हुनुहुन्छ। उहाँको वि.सं. २०६० मा ‘कमिलाको ताँती ‘ बाल कविता सङ्ग्रह प्रकाशित गरेपश्चात् लगातार बालकथा, कविता, निबन्ध, अन्तरवार्ता , समालोचना र आत्मपरक निबन्धक गरी दर्जन जति कृतिहरू प्रकाशित भैसकेका छन्। साहित्यकार आचार्य रामेछापबाट प्रकाशित हुने ‘रामेछाप नयन’ साप्ताहिक; रामेछाप साप्ताहिक, कर्मचारी मिलन केन्द्रका स्मारिका, शिक्षक सङ्घ संस्थाका स्मारिका, विद्यालय तथा क्याम्पसका अभ्यास शिक्षण निर्देशिका लगायतका विभिन्न साहित्यिक पत्रपत्रिकाहरूको सम्पादन समेत गर्नुहुन्थ्यो।
नेपाली भाषा शिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहेका आचार्यले जीवनको उत्तरार्द्धतिर हास्यव्यङ्ग्यात्मक भावका चोटिला मुक्तक समेत लेख्ने गर्नु भएको थियो। मैले नजानीकन कक्षा ६ पढ्दै गर्दा साहित्य लेख्न थालेको रहेछु। अलिअलि जानेर चाहिँ कक्षा ८ मा पढ्न थालेपछि लेखेको हुँ भन्ने साहित्यकार पेशल आचार्य मेरा साहित्यिक गुरु यही नै हुन् भनेर त ठ्याक्कै छैनन् तर मैले भवानी घिमिरे, नकुल काजी,भरत भुर्तेल लगायतका झापाली कवि कवयत्रीहरू ‘ सडक कविता क्रान्ति ‘ मा लागेको देखेर कविता लेख्न थालेको हुँ भन्ने गर्नुहुन्थ्यो। आफूलाई निबन्धकार, कवि, कथाकार , गीतकार, व्यङ्ग्यकार र मुक्तककार भन्न रुचाउने साहित्यकार पेशल आचार्यका प्रसङ्गवश धेरै बाल साहित्यका कृतिहरू प्रकाशनमा आएको भए तापनि उनी प्रौढ साहित्य लेख्ने मूलधारका साहित्यकार हुन्। नेपाली साहित्यको गजल विधामा कलम चलाउनेको सङ्ख्या बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा गजल सिर्जनाको बाढी आएको ठान्ने आचार्य यो बाढीमा माछा मात्रै नभएर भ्यागुता र चेपागाँडा पनि भएको देख्नुहुन्थ्यो ।
साहित्य राम्रो र कालजयी लेख्नुपर्छ । काल क्रमिक कृति लेख्न सकियो भने लेखक एउटै कृतिबाट अजर, अमर हुन्छ भन्ने विश्वास राख्ने आचार्य स्वच्छन्दतावादी भाव धाराका साहित्यकार हुनुहुन्थ्यो। नेपाली साहित्यको आकाशमा उज्ज्वल नक्षत्रको रूपमा उदाएका साहित्यकार पेशल आचार्य राष्ट्रिय स्तरको ‘परिवेश पुरस्कार -२०५१’; ‘उत्कृष्ट कवि पुरस्कार ‘ बिबिसी लन्डन -२०५४ र ‘ कविता महोत्सव पुरस्कार ‘-२०५५ बाट पुरस्कृत हुनुका साथै अब्बल शिक्षण गरेबापत नेपाल सरकारबाट ‘राष्ट्रिय शिक्षा पदक -२०६८’ बाट विभूषित समेत हुनुहुन्थ्यो। यस्ता विलक्षण प्रतिभाका धनी साहित्यकार पेशल आचार्यलाई स्वास्थ्यले भने साथ दिन सकेन। ब्रेन ट्युमर र क्यान्सर जस्ता घातक रोगबाट पीडित आचार्यको चार पटक टाउकोको शल्यक्रिया भएको थियो। न्युरो अस्पतालमा उपचाररत आचार्यलाई पछिल्लो पटक नेपाल मेडिसीटी अस्पतालमा रिफर गरिएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा २०८०/०४/०१ गते सोमबारका दिन उहाँको दुःखद निधन भयो।
लाखौँ पाठक, हजारौँ विद्यार्थी र साहित्य प्रेमीहरूको आँखाको नानी, साहित्य जगतका उज्ज्वल नक्षत्र पेशल आचार्यको भौतिक शरीर आज हामीबिचमा नरहे पनि उहाँले छोडेर जानु भएको कृतिले अजर, अमर बन्नू भएको छ भन्ने तथ्य कीर्ति शेष पेशल आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा बर्दिबास छन्द चौतारीका अध्यक्ष एवम् प्रलेस केन्द्रीय परिषद् सदस्य प्रेम घिमिरे ‘अग्नि कवच’ले सभापतिको आसनबाट सभालाई सम्बोधन गर्दै बताउनुभयो। साहित्यकार आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाहीका कवि कवयत्रीहरूको बाक्लो उपस्थिति थियो। सभालाई सम्बोधन गर्दै आफ्ना विचारहरू व्यक्त गर्नेहरूमा मिथिला नगरपालिका नगर कार्यपालिका सदस्य लक्ष्मी लामा, प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे, जानकी महिला समाजकी अध्यक्ष एवम् साहित्यकार मञ्जु भाषिणी, सर्लाही साहित्य समाजकी अध्यक्ष मिना देवकोटा, कमला साहित्य समाजका अध्यक्ष गणेश तिमिल्सिना गति, कोपिला साहित्य अभियान मधेसकी सदस्य भवानी घिमिरे, शिशिर घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र पोखरेल, विश्व नेपाली साहित्य महासंघ महोत्तरीका अध्यक्ष उद्धव अविचल र सचिव सुमन सारङ्गी , प्रलेस महोत्तरीका उपाध्यक्ष सानु शाही पुलामी, मुक्तक तथा गजलकार सागर श्रेष्ठ, साहित्य प्रेमी देवी कार्की लगायतका हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन बलेसी साहित्य समाज महोत्तरीका अध्यक्ष एवम् बर्दिबास छन्द चौतारीका कोषाध्यक्ष भिमकुमार राउतले गर्नुभएको थियो।
प्रेम घिमिरे ‘अग्नि कवच, बर्दिबास ,महोत्तरी।