रामेछाप । ५ दिन देखि जिल्ला प्रशासन कार्यालय रामेछापको गेट अगाडी आमरण अनसनमा बसिरहेकी बिनु यादवका लागि कुनै पहल गर्न नसकिने एक पत्र जारीगर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताएकी छिन् ।
पत्रमा भनिएको छ – जनप्रतिनिधिको रोहवरमा भएको छलफलको निष्कर्ष एवं जिल्ला सुरक्षा समितिको बैठकबाट समेत बिनु र उनका परिवारबिच घरमा बस्ने सम्बन्धमा समझदारी कायम हुन नसकेको एवं बिनु र उनका श्रीमान् प्रदीप कठायत बिचको सम्बन्ध विच्छेद मुद्दामा सम्मानित उच्च अदालतबाट भएको फैसला उपर प्रदीप कठायतले सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरेको र मुद्दा विचाराधीन रहेको बुझिएको साथै यस सम्बन्धमा सम्बन्धित अदालतबाट समेत यस कार्यालयलाई लेखी नआएको हुँदा प्रशासनले बिनुलाई श्रीमानको घरमा बस्ने सम्बन्धमा थप पहल गर्ने अवस्था नदेखिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।
के भन्छिन् बिनु ?
म कहाँ जानु ? उच्च अदालतबाट जितेर आएको मलाई मेरो घरमा पस्न दिइएको छैन । म आमरण अनसनमा नै बस्छु । म यही अनसन बसेकै ठाउँमा मर्छु तर म उपचारका लागी हस्पिटल जाँदिन । मेरो शरीरलाई अप्ठ्यारो हुने खालको केही घटना भए त्यसको जिम्मेवारी प्रजिअ हुनुपर्छ । उहाँ जिल्लाको ठुलो मान्छे, महिला भएर महिलाको सानो समस्या हल गर्न सक्नुहुन्न भने अरु के गर्नु हुन्छ ? उहाँले मेरो समस्या समाधान गर्न सक्नु हुन् भने मेरो लास उठ्छ कि जबर्जस्ति उहाँहरुले उठाएर कहाँ लग्नु हुन्छ त्यही गएर बस्ने हो । तर म अनसन चाहिँ तोड्दिन ।
उहाँ भाग्नु हुन्छ यहाँबाट । यहाँ बाट हिँड्नु हुन्न । बाटो परिवर्तन गरेर माथिको बाटो हिँड्नु हुन्छ । उहाँको आँखाले देख्न सक्दैन यहाँ मान्छे न्यायको लागि लडेर सुतेको दृश्य । म घर बस्न किन पाउँदिन एउटा पत्र लेख्दिनु भन्दा त्यो एउटा सामान्य पत्र पनि लेख्न क्षमता राख्नु हुन्न भने उहाँले कुन नैतिकता प्रजिअको कुर्सीमा बस्नु हुन्छ ? राजीनामा दिनुस् भन्छु म । यस्ता प्रजिअ जिल्लामा बसेर के गर्नु हुन्छ ? कि पार्टीको झन्डा बोकेर हिँड्नु पर्यो, एमाले ले जेजे भन्यो त्यही त्यही लेख्न्न पर्यो । यहाँ मन्थली नगरपालिकाले पनि घरमा बस्ने वातावरण नभएको लेखेको छ । के अदालत भन्दा ठुलो नगरपालिका हो ? मैले अदालतको कागज लिएर आएको छु। मैले अदालतमा जितेको मुद्दाको विषयमा उहाँहरूले नगरपालिका बाट घरमा बस्ने वातावरण नभएको पत्र पठाउन कतिको जायज छ ।
अब के हुन्छ हामीलाई थाहा छैन भन्नु कति न्यायसंगत होला ?
यही विषयमा प्रमुख जिल्ला अधिकारी निरौला सँग अब के हुन्छ बिनुको माग भन्दा निरौला भन्छिन् – अब के हुन्छ हामीलाई थाहा छैन । हामीले माथि सबैलाई जानकारी गराएका छौँ । अब के हुन्छ बिनुले भन्नु प¥यो, अनसन बस्ने मान्छेले नै भन्नु प¥यो । अब के गर्ने भन्ने बारे गृह मन्त्रालय तथा उच्च अदालतबाट निर्देशन आउन प¥यो । त्यहाँबाट आएको निर्देशन अनुसार हामी अगाडी बढ्ने हो ।
एकजना नागरिक ५ दिन देखि प्रशासनको गेटमा आमरण अनसनमा बस्दा नागरिकको सुरक्षा गर्ने जिम्मेवारी लिएको निकायको प्रमुख व्यक्तिले ’ अब के हुन्छ हामीलाई थाहा छैन’ भन्नु कति न्यायसंगत होला ? प्रशासनले बिनुलाई सुरक्षित ठाउँको प्रबन्ध गरिदिनु पर्दैन ? कि अब के हुन्छ हामीलाई थाहा छैन भनेर पन्छिनु प्रमुख जिल्ला अधिकारीको कर्तव्य र दायित्व भित्र पर्छ ?