रामेछाप । अरू बैंक भन्दा ठुलो र ग्राहकहरूको विश्वास जितेको संस्था भएकोले राष्ट्रिय वाणिज्य बैकले अरू वैकहरु भन्दा माथि रहेर गाउँका ज्येष्ठ नागरिक र विपन्नता भएका भएका व्यक्तिका पक्षमा थप काम गर्न पर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए । उनले राष्ट्रिय वाणिज्य बैकले सफलतापूर्वक ५९ औ वसन्त पार गरेकोमा बैंकको ब्यवस्थापक र कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिए ।
बैकको मन्थली शाखाले आफ्नो ५९ औ वार्षिक उत्सव बुधवार औपचारिक कार्यक्रमका बिच मनाएको थियो । कार्यालयमा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि नागरिक समाज र आफ्ना असल ऋणी र असल बचतकर्ता व्यवसायीहरू समेत उपस्थित थिए ।
बैकका व्यवस्थापक मीन बहादुर भुजेलको अध्यक्षता र सुदर्शन पौडेलको संचालनमा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामहरि पौडेल होम प्रसाद ,नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरे, रामेछाप निर्माण व्यवसायी संघका उपाध्यक्ष कृष्ण थापा मगर लगायतका वक्ताहरूले राष्ट्रिय वाणिज्य बैकले सेवाग्राहीहरूका पक्षमा गरेको कामलाई सर्व साधारणले रुचाएको बताएका थिए ।
बैकले वर्षभरिमा उत्कृष्ट बचत गर्ने चार जना सेवा ग्राहीहरूलाई कदर –पत्र द्वारा सम्मान गरेको थियो । सन्दीप जनरल स्टोर मन्थलीका संचालक दामोदर थापा, लक्की हार्डवेयर मन्थलीका संचालक नथुनि पुर्वे, मन्थली वडा नं १ सानीमदौका ईश्वरी प्रसाद सुवेदी, मन्थली बजारकी व्यवसायी अनिता भण्डारीलाई उत्कृष्ट बचत गर्ने भनी सम्मान गरेको थियो ।