रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाध्यक्ष कार्यक्रम संचालन गरेको छ । वडाले वडामा रहेको ७ वटा विद्यालयका शिक्षकलाई जिल्लाको नमुना विद्यालय डहु मावि सहित काठमाण्डौँको २ वटा नमुना विद्यालयको अध्ययन अवलोकन भ्रमण गराएको थियो । शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाध्यक्ष अन्तरक्रिया कार्यक्रम गरेको रामेछाप नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ७ का वडाध्यक्ष समीर कार्कीले बताए ।
शिक्षा क्षेत्र सुधारका लागी शिक्षक नै जिम्मेवार भएर काम गर्नु पर्ने कार्कीले बताए। उनले भने – ठाउँ, परिवेश र समय अनुसार सिकाउने शैली पनि परिवर्तन गर्नु पर्ने हुन्छ । विद्यालयहरूलाई शैक्षिक क्यालेन्डर बनाएर काम गर्न पर्छ । शिक्षकको सोच र वडाको श्रोतले नै शैक्षिक गुणस्तरमा वृद्धि हुन्छ।
आगामी शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन स्वरूप सम्मान गरिने कार्कीले घोषणा गरे । भ्रमणबाट सिकेका कुरालाई आफ्नो विद्यालयमा लागु गर्ने शिक्षकहरूले लिखित रूपमा प्रतिबद्धता जनाएका छन् । सामुदायिक विद्यालयमा खस्कँदै गरेको शैक्षिक अवस्थाको सुधारका लागी कार्यक्रम संचालन गरिएको हो । वडाले शिक्षा क्षेत्र सुधारका लागी वडामा रहेका ७ वटै विद्यालयका शिक्षकहरूलाई २ दिने शैक्षिक अवलोकन भ्रमण गराएको थियो ।