रामेछाप । रामेछापको मन्थलीमा टिफरबाट खस्दा नारायण बस्नेतको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ भैशेश्वर लक्ष्मी आयल स्टोर परिसरमा तेल हाल्न टिफरको सामान मिलाउने क्रममा खस्दा सहचालक बस्नेतको ज्यान गएको हो ।
मन्थली नगरपालिका–४ सालुका बस्नेत मन्थली बालुवा प्रशोधन केन्द्रको प्रदेश नं ३०१००३ क ५७६४ नम्बरको टिफरको ढालाबाट खस्दा गम्भीर घाइते भएका थिए । घाईते बस्नेतलाई उपचारको क्रममा मन्थली अस्पतालमा पुर्याईएको थियो ।
आइतबार दिउँसो टिफरबाट खसेर घाईते भएका बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए ।
मृतक बस्नेतको शव मन्थली अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न टिफर र टिफर चालक मन्थली नगरपालिका–५ सुनारपानीका ३४ वर्षीय कुमार कार्की प्रहरी नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।