रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका किसानहरू रासायनिक मलको अभावले संकटमा परेका छन्। मकैको गोडमेल पछिको महत्त्वपूर्ण समयमा युरिया मलको अभावले गर्दा उनीहरू आफ्नो बाली सुक्ने डरमा छन्। हरेक वर्ष चैतदेखि जेठसम्म मकै सप्रनका लागि मुख्य सिजनमा मल नपाएर किसान चिन्तित छन्। युरिया मलको चरम भएको भन्दै किसानहरू आक्रोशित छन्।
मन्थली नगरपालिका–२ का किसान अर्जुन तामाङ भन्छन्, “मकै राम्रो उम्रेको थियो, अब गोडमेल र मल हाल्ने बेला हो। तर सहकारीमा गएर हेर्दा मल छैन। खेत हेरेर डर लाग्न थाल्यो — मकै सप्रेला भन्दा सुकेर मर्ने त होइन?”
मन्थली नगरपालिका २ की किसान गीता श्रेष्ठ भन्छिन्, “सरकारले किसानको खेती बालीसँग खेल्ने हो भने हामी किन खेतमा पस्नु? राम्रो उत्पादन गर्न मल चाहिन्छ, त्यो पनि नपाउने भएपछि खेती व्यर्थ भयो। बेलामा मल नपाउने हो भने बाली सप्रिँदैन, बाली नसप्रे फल लाग्दैन, फल नलागे के खानु ? अन्तिम विकल्प हो विदेश जानु ।”
मन्थलीमा मल बाँड्न जिम्मा पाएको कृषि सहकारीमा युरिया मलको स्टक समाप्त भएको छ। सहकारीहरूले माग अनुसार मल नपाएको र आफूहरूलाई वितरणका लागि उच्च तहबाट कुनै निश्चित मिति नदिएको जानकारी दिएका छन्।
छहारी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उमेश श्रेष्ठ भन्छन्, “हामीले गत महिनैदेखि मलको माग राखेका छौँ, तर अझै आएन। किसान दिनदिनै आउँछन्, हामीसँग जवाफ छैन। कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङले खटाएको कोटाको मलले किसानको माग पुरा हुँदैन ।”
किसानहरूले मल वितरण, सहकारीको अनुगमन, र मल अभावको अवस्थाबारे मन्थली नगरपालिकाले गम्भीरता नदिएको आरोप किसानले लगाएका छन्। नगरपालिकाले भने आफूमाथि गुनासो परेको र कृषि शाखामार्फत आवश्यक पहल भइरहेको बताएको छ।
मन्थली नगरपालिकाको कृषि शाखाले आफ्नो जिम्मेवारी पुरा नगर्नाले किसानले दुख पाए, समस्या भोग्नु प¥यो, बेलामा रासायनिक मल पाएनन् भन्ने जनगुनासो गरे पश्चात् मन्थली नगरपालिकाका सहायक कृषि अर्थ विज्ञ योवन कुमार सुनुवारलाई बारम्बार सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा आएनन् ।
सरकारले जैविक मल प्रयोगलाई प्रोत्साहित गर्दै आए पनि गाउँमा काम गर्ने युवा बिदेसिए पछि गोबर मल मात्र भरपर्दो विकल्प बन्न सकेको छैन। किसानहरू आफैँले कम्पोस्ट मल तयार गरे पनि त्यो पर्याप्त नहुने उनीहरूको गुनासो छ।
मन्थलीका किसानहरू बेलैमा मल, आधुनिक प्रविधि, र समयमै सेवा नपाएर खेतीको मोह गुमाउँदै छन् । अब भने किसानहरूले खेतीमा लगानी गर्न डर मान्न थालेका छन्।
किसान लक्ष्मी कार्की भन्छिन्, “सरकारको नजरमा हामी किसान छैनौँ जस्तो लाग्छ। समयमै मल नपाएर खेती सुक्न लागेको छ, हामी रोएर के हुन्छ? मन्थलीको तातो घाममा दिन भरि मल पाइने आशामा कुरेर बस्यौँ, अन्तिममा खाली हात फर्कनु प¥यो ।”
यता मन्थली नगरपालिकाले भने मल अभाव नरहेको बताएको छ । मन्थली नगरपालिकाका महाशाखा प्रमुख तथा सूचना अधिकारी हेमन्त बुढाथोकी किसानलाई मल अभाव हुन नदिन नगरपालिकाले काम गरिरहेको बताउँछन् । उनी भन्छन् – अहिले आएको कोटाको मलले किसानको माग नधाने पनि हामीले पुनः मल ल्याउन सिफारिस गरिसकेका छौँ । केही दिनमा किसानलाई चाहिने जति मत आपूर्ति हुन्छ ।
मन्थली क्षेत्रका हजारौँ किसान अहिले बाली बचाउने संघर्षमा छन्। केही किलोग्राम युरिया मल पाउने आशामा सहकारीको ढोका चहार्दै गर्दा उनीहरूको श्रम, आशा र लगानी बिस्तारै सुक्दैछ। यदि अबको एक साताभित्र मल आपूर्ति भएन भने मन्थलीमा मकै बाली मात्र हैन, किसानहरूको खेतीमा भरोसा पनि सुक्नेछ।