प्रेस युनियनको ३४औं स्थापना दिवसमा पत्रकारहरूको निःशुल्क आँखा परीक्षण
रामेछाप । नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। पत्रकारहरूको स्वास्थ्यमा ध्यान केन्द्रित गर्दै सञ्चारकर्मीहरूका लागि यस्तो खालको स्वास्थ्य परीक्षण पहिलोपटक गरिएको हो, जसले पत्रकार समुदायमा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्य लिएको छ।
स्थापना दिवसको अवसर पारेर युनियनले मन्थलीमा मंगलबार विशेष स्वास्थ्य शिविरको आयोजना गरेको हो। उक्त शिविर तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत सञ्चालित सामुदायिक आँखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो।
शिविरमा जिल्लाका २८ जना पत्रकारहरूले आँखा परीक्षण गराएका थिए। परीक्षणको क्रममा दृष्टिदोष, सुक्खा आँखा, चालिसे लाग्नु, आँखाको एलर्जी, र आँखामा पाक्ने समस्या लगायतका स्वास्थ्य समस्या पहिचान भएको सामुदायिक आँखा केन्द्र मन्थलीका प्रमुख उमेश तामाङले जानकारी दिए।
तामाङका अनुसार परीक्षण गराइएका पत्रकारमध्ये २५ जनामा दृष्टिदोष देखिएपछि उनीहरूलाई निःशुल्क चश्मा वितरण गरिएको छ। उनले थपे, “सञ्चारकर्मीहरू लामो समय कम्प्युटर, मोबाइल, क्यामेरा र टेलिभिजन स्क्रिनमा काम गर्नुपर्ने भएकाले आँखासम्बन्धी समस्या देखा पर्नु स्वाभाविक हो। यस्तो अवस्थामा नियमित परीक्षण र सचेतना आवश्यक छ।”
नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले पत्रकारहरूको आँखाको समस्या दीर्घकालीन हुन सक्ने भएकाले यस्ता परीक्षण कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताइन्। उनले भनिन्, “पत्रकारिता पेशामा खटिने क्रममा हामी धेरैजसो समय डिजिटल उपकरणहरूमा बिताउँछौं। यस्तो अवस्थाले आँखा समस्यामा वृद्धि गरेको छ। त्यसैले यस्ता स्वास्थ्य जाँचले धेरै राहत पुर्याएको छ।”
कार्यक्रममा सहभागी पत्रकारहरूले पनि यस्ता स्वास्थ्य शिविर अत्यन्तै आवश्यक र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार नियमित आँखाको जाँच र आवश्यक परे चश्मा वा औषधिको प्रयोगले पेसागत कार्यमा थप सहजता ल्याउनेछ।
तिलगंगा आँखा प्रतिष्ठानको सामुदायिक सेवा केन्द्र मन्थलीले विगत २५ वर्षदेखि जिल्लामा आँखासम्बन्धी सेवा दिँदै आएको छ। हाल सो सेवा केन्द्रलाई थप सशक्त र व्यवस्थित बनाउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त नयाँ भवन निर्माण भइरहेको छ।
नेपाल प्रेस युनियन रामेछापले स्थापना दिवसको अवसरमा यस्ता सामाजिक तथा स्वास्थ्य कार्यक्रम गरेर पत्रकारहरूको हकहित र सामाजिक उत्तरदायित्व दुबै पक्षमा अग्रसर भूमिका निर्वाह गरिरहेको सन्देश दिएको छ।