रामेछाप । संघीय बजेटमार्फत सुनचाँदी गहनामा लगाइएको २ प्रतिशत ’विलासिता कर’ खारेजको माग राख्दै रामेछाप जिल्लाका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछाप शाखा तथा कालिगढ संघर्ष समितिको अगुवाइमा बिहीबारदेखि जिल्लाभरका ५१ भन्दा बढी सुनचाँदी पसलहरू बन्द गरी व्यवसायीहरू सडकमा उत्रिएका हुन्।
व्यवसायीहरूले पसल अगाडि कालो ब्यानर टाँसेर विरोध जनाएका छन् भने जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई ज्ञापनपत्र समेत बुझाइएको छ। उनीहरूले असार ६ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको बताएका छन्।
नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका सचिव सिताराम लोहारका अनुसार हालको बजेटमा सुनचाँदी गहनामा अनावश्यक रूपमा २ प्रतिशत विलासिता कर लगाइएको छ, जुन व्यवहारिक छैन। “यो करले साना तथा मध्यम वर्गीय व्यवसायीहरूलाई गम्भीर असर गर्छ। सुनचाँदीजस्तो परम्परागत व्यवसायलाई विलासिता भनिनु नै अन्यायपूर्ण हो,“ उनले भने।
उनले थपे, “हामीले सरकारसँग तीनवटा मुख्य माग राखेका छौं – पहिलो, सुनचाँदी गहनामा लगाइएको विलासिता कर तुरुन्त खारेज गरियोस्; दोस्रो, सुनको भन्सार ६ प्रतिशतमा कायम गरियोस्; र तेस्रो, सुनचाँदी व्यवसायको लागि स्पष्ट, दीर्घकालीन, र व्यवहारिक नीति तथा नियमावली निर्माण गरियोस्।”
विरोधमा उत्रिएका व्यवसायीहरूले सुनचाँदी व्यवसाय राष्ट्रिय पहिचान, परम्परा, तथा लाखौं जनताको जीविकासँग प्रत्यक्ष जोडिएको व्यवसाय भएकाले यसलाई “विलासिता“ को रूपमा हेर्नु गलत रहेको बताए।
कालिगढ संघर्ष समितिका संयोजकले पनि बजेटमा समावेश गरिएको प्रावधानले व्यवसायीहरूलाई करको अतिरिक्त बोझ मात्रै नभई कालोबजारीलाई समेत प्रोत्साहन दिने खतरा रहेको बताए।
आन्दोलनका क्रममा व्यवसायीहरूले स्थानीय जनप्रतिनिधि, नागरिक समाज, तथा अन्य सरोकारवालाहरूसँग समेत समन्वय गरी जनदबाब सिर्जना गर्ने रणनीति बनाएका छन्। यदि मागहरू सुनुवाइ नभएमा आन्दोलनलाई थप कडा बनाउँदै देशव्यापी रुप दिने चेतावनी समेत दिइएको छ।
सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी रहँदा उपभोक्ताहरू पनि सेवा नपाएर प्रभावित भएका छन्। जिल्लाभरका बजारहरूमा सुनचाँदी पसलहरू ठप्प हुँदा आर्थिक गतिविधिमा समेत असर परेको छ।