रामेछाप । ‘कमाइको सपना बोकेर विदेशिएका थिए, तर बाकसमा फर्किए।’ – यस्ता घटनाहरू रामेछापका ग्रामीण बस्तीमा दोहोरिन थालेका छन् । पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीको क्रममा ३१ जना रामेछापेलीको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएपछि वैदेशिक रोजगारीको पछाडि लुकेको जोखिम पुनः सतहमा आएको छ।
वैदेशिक रोजगारीमा जाने लहरसँगै ज्यान गुमाउनेको संख्यामा समेत वृद्धि भइरहेको देखिन्छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ९ जना श्रमिकले विभिन्न देशमा ज्यान गुमाएका छन्।
रोजगारको खोजीमा गाउँ छोडेर विदेशिने क्रम रामेछापमा निरन्तर बढ्दो छ । चालु आर्थिक वर्षमा मात्र ६ हजार ७६ जना (४,७२० पुरुष र १,३५६ महिला) श्रम स्वीकृति लिएर विदेश गएका छन्। सस्तो श्रमको बजारमा जानेको मुख्य गन्तव्य युएई, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, र रोमानिया जस्ता मुलुकहरू रहेका छन्।
तर, विदेशिनेको आकांक्षा पुरा नहुँदै घर फर्कने क्रममा बाकसमा लाश आइपुग्दा परिवार र गाउँका लागि त्यो सपना दुःस्वप्नमा बदलिन्छ। धेरैजसो घटनाहरू अत्यधिक गर्मी, कामका जोखिम, पर्याप्त स्वास्थ्य सेवाको अभाव, वा अनुचित कामको दबाबका कारण हुने गरेको विश्लेषण गरिएको छ।
हेल्वेटासकी कार्यक्रम संयोजक उमा पौडेलका अनुसार, हालसम्म ७१ लाख नेपाली विदेशमा रहेका छन्, तर फर्कनेहरूको बारेमा कुनै आधिकारिक तथ्यांक उपलब्ध छैन। “हामीमध्ये दैनिक २,२०० जना विदेश गइरहेका छौं, तर उनीहरूको सुरक्षा, अधिकार र स्वास्थ्यप्रति हाम्रो ध्यान अपर्याप्त छ,” पौडेलले भनिन्।
वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो भए पनि जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, सीपमूलक तालिम, कामदारको बीमा सुविधा, र प्रभावकारी अनुगमन प्रणाली अझै कमजोर अवस्थामा छ।
कार्यक्रममा सहभागी मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले वैदेशिक रोजगारमा ठगी, प्रलोभन र कानुनी जानकारीको अभाव प्रमुख चुनौती भएको जनाउँदै जागरूकता कार्यक्रमलाई निरन्तरता दिने बताए।
विदेश जानु बाध्यता हुन सक्छ, तर त्यसको लागि जनशक्तिको जीवन र भविष्य दाउमा राख्नु विकल्प होइन। वैदेशिक रोजगारीसँग जोडिएका जोखिम न्यूनीकरण गर्न स्थानीय तह, संघीय निकाय, र सरोकारवाला संस्थाहरूको समन्वयमा आधारित दीर्घकालीन नीति निर्माण अपरिहार्य देखिन्छ।
कसैले आफ्नो जीवनको मूल्य तिरेर परिवारको सपना पूरा गर्नुपर्छ भने त्यो सामाजिक विफलता हो, न कि व्यक्तिगत असफलता।