रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित चिहान खोलामा गएराति आएको पहिरोले क्षति पु¥याएको छ।
स्थानीय चेली बसेलको गोठ पहिरोले पुरिँदा गोठभित्र रहेका एक गाई र एक बाछो मरेको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताए । त्यसैगरी झगरसिं बसेलको घर पनि पूर्ण रूपमा क्षति भएको छ।
घटनापछि गाउँपालिका अध्यक्ष मोक्तान, उपाध्यक्षसहित स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थलमै खटिएको छ। चिहान खोलाका १२ घरमध्ये अन्य पाँच घर अझै पहिरोको उच्च जोखिममा रहेको हुँदा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भइरहेको छ।
यही वडाको लेखर्क बस्तीमा गत वर्षको भदौमा पहिरोले १० जनाको ज्यान लिएको थियो।