रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार नगर प्रमुख लव श्रेष्ठको अध्यक्षमा भएको १७ औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख ईश्वरी बस्नेतले कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख बस्नेतले प्रस्तुत गरेको बजेटमध्ये ६८.७५ प्रतिशत चालु खर्चतर्फ र ३१।२५ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये चालु तर्फ ९०.५४ प्रतिशत र ५५.९१ प्रतिशत रकम प्राप्त भएको उल्लेख गरिएको छ।
त्यस्तै संघ तथा प्रदेश सरकारबाट हस्तान्तरण भएका कार्यक्रममध्ये पुँजीगत तर्फ ९.४६ प्रतिशत र ४४.०९ प्रतिशत प्राप्त भएको छ । नगरसभाले विनियोजन गर्ने मध्ये चालू तर्फ ४८.६७ प्रतिशत र पुँजीगत तर्फ ५१.३३ बजेट विनियोजन गरेको उल्लेख छ । बजेटले सबै नागरिकका लागि सुलभ र गुणस्तरीय सामाजिक सेवामा पहुँच विस्तार, प्रतिफलमुखी कृषि तथा पशुजन्य उत्पादन र बजारीकरणलाई विशेष जोड, प्रविधिमैत्री सेवा प्रवाहको विस्तार, नगर–समुदाय तथा वडा साझेदारीका आधारमा पूर्वाधार निर्माणमा प्रोत्साहन, वडा कार्यालयहरू जोड्ने प्रमुख सडकहरूको स्तरोन्नति र पक्की संरचना निर्माण, साथै प्रमुख बजार क्षेत्रहरूको सरसफाइमा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ।
नगर उपप्रमुख बस्नेतले बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, वातावरण संरक्षण, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा सन्तुलित विकासको दृष्टिकोण प्रस्तुत गरिएको बताईन् । नगरसभामा नगरप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, सरोकारवाला तथा नगरवासी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।