रामेछाप । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा ४ जिपिए ल्याएर जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्ने मन्थली माविकी छात्रा सफिना श्रेष्ठलाई नेकपा माओवादी केन्द्र रामेछापले विशेष सम्मान गरेको छ।
सरकारी विद्यालयमा अध्ययन गर्दै उच्च सफलता हात पारेकी मध्यम वर्गीय परिवारकी छात्रा श्रेष्ठको मेहनत र उपलब्धिलाई मनन गर्दै बिहीबार माओवादी केन्द्रका इन्चार्ज तथा पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ (कुशल) नेतृत्वको टोलीले उनको निवासमै पुगेर नगदसहित सम्मानपत्र प्रदान गरेको हो।
सम्मान कार्यक्रमको अवसरमा पूर्व मन्त्री श्रेष्ठले उत्कृष्ट शैक्षिक नतिजाका साथै विद्यालयहरूमा नैतिक शिक्षा, अनुशासन, संस्कार र संस्कृतिको अभ्यासलाई पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए।
सम्मान ग्रहण गर्दै छात्रा सफिना श्रेष्ठले आफ्नो मेहनतलाई कदर गरी सम्मानित गरिएकोमा आयोजक, विद्यालय, शिक्षक तथा अभिभावकप्रति आभार प्रकट गरिन्। उनले राष्ट्र निर्माणमा योगदान पु¥याउने जिम्मेवार नागरिक बन्ने दृढ अठोटसमेत व्यक्त गरिन्।
सम्मान कार्यक्रममा माओवादी केन्द्र रामेछापका जिल्ला सचिव प्रेम कुमार कार्की, प्रेस सेन्टर रामेछाप अध्यक्ष निरोज श्रेष्ठ, सचिव प्रशान्त हायु, युवा व्यवसायी विनोद श्रेष्ठलगायतको उपस्थिति थियो।