रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले संभावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै चीनको तिब्बत क्षेत्रमा लगातार भएको वर्षाका कारण सुनकोशी नदीमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना औंल्याउँदै जोखिम न्यूनिकरणमा सजग हुन अनुरोध गरेको हो।
विशेष गरी रामेछाप जिल्लाको सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका तथा मन्थली नगरपालिका क्षेत्रका सुनकोशी नदी किनारका बस्तीहरू बाढीको उच्च जोखिममा पर्ने देखिएको प्रशासनको भनाइ छ।
प्रशासकीय अधिकृत प्रकाश प्रधानका अनुसार नदी किनारमा बसोबास गर्ने नागरिकहरूलाई समयमै सतर्कता अपनाउन, आवश्यक परे सुरक्षित स्थानमा सर्न र नदी नजिक जानबाट टाढा रहन सूचित गरिएको छ।
प्रशासनले सम्भावित जनधनको क्षति रोक्न पूर्वसावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।