काठमाडौँ । मिस ग्राण्ड नेपाल २०२५ को ग्रान्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेका बेला रामेछापकी छोरी चाहना प्रधान ताज जित्ने प्रबल दाबेदारका रूपमा देखा परेकी छन् । राजधानीको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शनिबार आयोजना हुने फिनालेमा सहभागि भएका प्रतिस्पर्धीहरूमध्ये चाहनाले आफ्नो सशक्त प्रस्तुति, आत्मविश्वास र सामाजिक विषयमा गरिएको प्रभावशाली अभिव्यक्तिका कारण निर्णायक तथा दर्शक दुवैको ध्यान तानेकी छन् ।
सानैदेखि व्यवसायिक सोच, नेतृत्व क्षमता र सौन्दर्य चेतनामा रुचि राख्दै आएकी प्रधानले हालसम्मको प्रशिक्षण र अनुभवलाई मञ्चमा उच्च स्तरमा प्रस्तुत गर्दै आएकी छन् । उनले भनिन्, “म मिस ग्राण्ड नेपालको मञ्चलाई केवल सौन्दर्य प्रतियोगिता होइन, सामाजिक परिवर्तनको माध्यमका रूपमा हेर्छु । ताज जितेर अझ सकारात्मक भूमिका निर्वाह गर्नेछु ।” फिनालेमा निर्णायकहरूको मूल्यांकन, दर्शकको समर्थन र राष्ट्रिय स्तरमा चाहनाले देखाउने प्रस्तुति निर्णायक बन्नेछ । यदि उनले ताज जित्न सफल भइन् भने, रामेछाप मात्र होइन, देशभरिका युवतीका लागि प्रेरणाको पात्र बन्नेछिन् । उनको जितले व्यवसाय, सौन्दर्य र सामाजिक उत्तरदायित्वलाई एकै ठाउँमा कसरी समेट्न सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गर्नेछ ।