रामेछाप । नेपाली कांग्रेसका तर्फबाट रामेछाप जिल्लाको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामचन्द्र खड्काले मुलुकको दिगो समृद्धिका लागि भ्रष्टाचारको अन्त्य र युवा नेतृत्वको निर्णायक भूमिका अपरिहार्य रहेको बताएका छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले अबको राजनीति नारामुखी होइन, परिणाममुखी हुनुपर्नेमा जोड दिए।
उम्मेदवार खड्काले भ्रष्टाचारकै कारण विकास र सुशासन अवरुद्ध भएको उल्लेख गर्दै आफू निर्वाचित भएमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे। ‘जनताको करबाट जम्मा भएको राज्यको ढुकुटी दुरुपयोग गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइन्छ,’ उनले भने, ‘सत्तामा पुगेका व्यक्ति मात्र होइन, तिनका नातेदारको सम्पत्तिसमेत छानबिन गर्ने अभियानको नेतृत्व गर्न म तयार छु।’ भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म विकासका योजना कागजमै सीमित हुने उनको भनाइ थियो।
कार्यक्रममा उनले नेपाली कांग्रेसभित्र विकसित हुँदै गएको युवा नेतृत्वको प्रसंग पनि उठाए। गगन थापा, विश्वप्रकाश शर्मालगायत युवा नेताहरूको नेतृत्वमा पार्टी नयाँ दिशातर्फ अघि बढिरहेको उल्लेख गर्दै खड्काले अबको नेतृत्व युवा पुस्ताकै हातमा जाने विश्वास व्यक्त गरे। उनले अनुभवी नेताहरूको अनुभव र ‘जेन–जी’ पुस्ताको जोशलाई समेटेर देश निर्माणको अभियान अघि बढाइने प्रतिबद्धता जनाए।
रामेछापको समग्र विकासका सन्दर्भमा उम्मेदवार खड्काले पर्यटन, कृषि र भौतिक पूर्वाधारलाई मुख्य आधारका रूपमा अघि सारे। हरेक वडालाई गाउँपालिका केन्द्र तथा सदरमुकामसँग जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे, ‘एक घर, एक धारा’ अवधारणाको प्रभावकारी कार्यान्वयन तथा जिल्लाभित्रका सक्षम युवा जनशक्तिलाई अवसर सिर्जना गर्ने उनका प्रमुख प्राथमिकता रहेको बताए।
निर्वाचनको अन्तिम चरणमा उनले मञ्चमा भाषणभन्दा घरदैलो अभियानलाई प्राथमिकता दिन कार्यकर्ताहरूलाई निर्देशन दिए। तरुण दल, महिला संघलगायत भ्रातृ संस्थालाई निरन्तर सक्रिय रहँदै गाउँ–गाउँमा पुग्न आग्रह गर्दै उनले यो चुनाव व्यक्तिको जित–हारभन्दा पनि समग्र रामेछाप र आगामी पुस्ताको भविष्यसँग जोडिएको विषय भएको उल्लेख गरे।
विगतमा भएका विकास प्रयासको स्वामित्व लिँदै उम्मेदवार खड्काले भ्रम र उत्तेजनामा नपरी व्यवहारिक र दीर्घकालीन विकासको पक्षमा उभिन मतदातासँग अपिल गरेका छन्। भ्रष्टाचारमुक्त समाज र युवा नेतृत्वकै बलमा रामेछापलाई समृद्धिको बाटोमा अघि बढाइने उनको दाबी छ।





