Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको राजनीतिक : विरासत, सामर्थ्य र परिवर्तनको कडी

Kumar Shrestha by Kumar Shrestha
February 6, 2026
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रामेछापको राजनीतिक : विरासत, सामर्थ्य र परिवर्तनको कडी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली राजनीतिको एउटा सचेत र जुझारु जिल्लाका रूपमा परिचित रामेछाप यतिबेला फेरि एकपटक इतिहासको निर्णायक मोडमा उभिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचन केवल एक प्रतिनिधिलाई संसद वा सत्तामा पु¥याउने माध्यम मात्र होइन, यो त जिल्लाका स्थापित राजनीतिक शक्तिहरूको साख जोगाउने र नयाँ उदयमान शक्तिहरूको अस्तित्व प्रमाणित गर्ने महासंग्राम हो। तामाकोशी र सुनकोशीका छालहरू जस्तै यहाँको राजनीति पनि यतिबेला निकै उतारचढावपूर्ण देखिएको छ। १७ जना उम्मेदवारहरूको चुनावी मैदानले रामेछापलाई एउटा यस्तो राजनीतिक प्रयोगशाला बनाइदिएको छ, जहाँ पुराना अनुभव र नयाँ प्रयोगहरूबीच भीषण टक्कर परिरहेको छ।
नेपाली कांग्रेस यसपटक रक्षात्मक होइन, पूर्ण रूपमा आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको छ। जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को नेतृत्वमा कांग्रेसले जुन प्रकारको सांगठनिक संरचना तयार पारेको छ, त्यसले विपक्षी दलहरूलाई झस्काएको मात्र छैन, आफ्नो रणनीति बदल्न समेत बाध्य तुल्याएको छ।
कांग्रेसले निर्वाचन परिचालनका लागि २३ वटा विशेष समितिहरू निर्माण गरेको छ। यो केवल कागजी समिति मात्र नभएर टोल–टोलमा पुगेर मतदाताको मनोभावना बुझ्ने र आफ्नो पक्षमा पार्ने एउटा सूक्ष्म व्यवस्थापन हो। विशेषगरी युवाहरूलाई आकर्षित उपसमिति गठन गरिनुले के देखाउँछ भने, कांग्रेस अब केवल पुरानो पुस्ताको भरमा मात्र छैन। उम्मेदवार रामचन्द्र खड्काको शालीन व्यक्तित्व र कान्छारामको साधन–स्रोत सम्पन्न सांगठनिक तागतको फ्युजनले कांग्रेसलाई एउटा बलियो किल्लाका रूपमा प्रस्तुत गरेको छ।
रामेछापको राजनीतिक इतिहासमा नेकपा एमालेको एउटा बलियो विरासत छ। कुनै समय ’लालकिल्ला’ का रूपमा चिनिने यो जिल्लामा आफ्नो गुमेको साख फिर्ता गर्नु एमालेका लागि प्रतिष्ठाको लडाइँ बनेको छ। यसपटक एमालेले आफ्ना प्रभावशाली र बौद्धिक नेता माधव ढुङ्गेललाई चुनावी मैदानमा उतारेको छ।
ढुङ्गेलको वैचारिक स्पष्टता र विकासप्रेमी छविका कारण एमालेका कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ। एमालेले आफ्नो परम्परागत शैलीभन्दा केही फरक ढंगले ’सुस्त तर ठोस’ घरदैलो अभियानलाई तीव्र बनाएको छ। गाउँगाउँमा रहेका मजबुत तल्लो तहका कमिटीहरू एमालेका मुख्य हतियार हुन्। ढुङ्गेलले अघि सारेको विकास र समृद्धिको एजेन्डाले कांग्रेसका रामचन्द्र खड्कालाई कडा चुनौती दिएको छ। एमालेका लागि यो चुनाव केवल अंकगणितको खेल मात्र होइन, बरु आफ्नो वैचारिक श्रेष्ठता सिद्ध गर्ने अवसर पनि हो।
राजनीतिक समीकरणको फेरबदलसँगै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको ८ दलीय गठबन्धनको नेपाली कम्युनिष्ट पार्टीले श्यामकुमार श्रेष्ठलाई उम्मेदवारका रूपमा अघि सारेको छ। ’तारा’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएको यो मोर्चाले विशेषगरी दोरम्बा र सुनापति आफ्ना पकड क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेको छ।
माओवादीको जनयुद्धकालीन आधार इलाका र समाजवादीको सांगठनिक उपस्थितिले जिल्लाको चुनावी अंकगणितलाई निकै जटिल बनाइदिएको छ। यो गठबन्धनले परिवर्तन र सुशासनलाई आफ्नो मुख्य अस्त्र बनाएको छ। १७ जनाको भीडमा यो शक्तिले कति मत काट्छ र कति सुरक्षित गर्छ भन्ने कुराले नै हार–जितको फैसलामा ठूलो भूमिका खेल्ने देखिन्छ। विशेषगरी कांग्रेस र एमाले दुवैको परम्परागत मतमा यसले गर्ने ‘सेंधमारी’ नै यो चुनावको सबैभन्दा रोचक पक्ष हुनेछ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएर परम्परागत शक्तिहरूलाई ठूलो धक्का दिएको छ। विशेषगरी सदरमुकाम मन्थली र सहरी इलाकाका युवा तथा ’जेन्जी’ मतदाताहरूमाझ रास्वपाको आकर्षण बढ्दो छ। पुरानो पुस्ताको राजनीतिबाट दिक्क भएका र नयाँ अनुहार खोजिरहेका मतदाताहरूका लागि रास्वपा एउटा बलियो विकल्पका रूपमा देखिएको छ।
रास्वपाको यही बढ्दो प्रभावका कारण नै कांग्रेसले युवा लक्षित छुट्टै उपसमिति गठन गर्नुपरेको विश्लेषण गरिँदैछ। ठूला भनिएका दलहरू अहिले आफ्नो ‘कोर भोट’ जोगाउन रक्षात्मक बन्नुपर्ने स्थिति सिर्जना भएको छ। डा. बुढाथोकीले उठाउने सुशासन र प्रविधिको मुद्दाले शिक्षित वर्गलाई निकै आकर्षित गरेको छ, जसले गर्दा स्थापित दलहरूको किल्ला हल्लिने डर छ ।
रामेछापको चुनावी वातावरण अहिले यस्तो विन्दुमा पुगेको छ जहाँ मतदाताहरू दलका झण्डा भन्दा बढी उम्मेदवारको भिजन र जिल्लाको विकासका मुद्दामा बहस गरिरहेका छन्। खुर्कोट–मन्थली सडकको स्तरोन्नति, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच, र युवा पलायन रोक्ने ठोस योजना नै अहिलेका मुख्य मागहरू हुन्।
कांग्रेसले बनाएको २३ वटा समिति र ‘कान्छाराम’ को व्यवस्थापनलाई चिर्न विपक्षीहरूले पनि टोल–टोलमा आफ्ना ‘कमान्डो’ हरू खटाएका छन्। १७ जना उम्मेदवारको भीडमा मुख्य चार शक्तिबीचको यो दाउपेचले रामेछापलाई यतिबेला राजनीतिको केन्द्रविन्दु बनाइदिएको छ।
फागुन २१ को मतदानले रामेछापमा कसको ‘गढ’ ढल्ने र कसको ‘किल्ला’ बन्ने हो भन्ने फैसला गर्नेछ। कांग्रेसको सांगठनिक घेराबन्दी, एमालेको कार्यकर्ता परिचालन, नेकपाको गठबन्धन र रास्वपाको ढिट कुन कुरालाई रामेछापका सचेत मतदाताले पत्याउनेछन्, त्यो हेर्न बाँकी नै छ। तर, यो तीव्र प्रतिष्पर्धाले रामेछापको लोकतन्त्रलाई अझ जीवन्त, उत्तरदायी र प्रतिस्पर्धी बनाएको भने पक्का छ। जिल्लावासीको एउटै चाहना छ–जित जसको भए पनि रामेछापको समग्र विकास र समृद्धिको यात्रा नरोकियोस्।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सडकले जोडिए सानो र ठूलो शैलुङ

Next Post

रामेछापमा निर्वाचन प्रहरीको प्रशिक्षण तीव्र

Next Post
रामेछापमा निर्वाचन प्रहरीको प्रशिक्षण तीव्र

रामेछापमा निर्वाचन प्रहरीको प्रशिक्षण तीव्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.