रामेछाप । मन्थली नगरपालिकाको आयोजना र काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामङ्गलको प्राविधिक सहयोगमा मन्थली अस्पतालमा वैशाख २८ गते एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस शिविरको सम्पूर्ण तयारी पूरा भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव धामीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार शिविर भोलि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाडजोर्नी तथा नसा, नाक–कान–घाँटी, आँखा र दन्त रोगका विशेषज्ञहरूले बिरामीको स्वास्थ्य परीक्षण गर्नेछन्। यसका साथै सामान्य शल्यक्रिया सेवा समेत निःशुल्क रूपमा प्रदान गरिने डा. धामीले स्पष्ट पारेका छन्। स्वास्थ्य बिमा गरेका सेवाग्राहीहरूलाई आफ्नो बिमा कार्ड र आवश्यक कागजात साथमै लिएर आउन समेत अस्पतालले अनुरोध गरेको छ।
यस स्वास्थ्य शिविर सञ्चालनका लागि समाजसेवी गुरुराज भट्टराई (आकाश) ले विशेष पहल गरेका हुन्। भट्टराईका अनुसार शिविरमा काठमाडौँ मेडिकल कलेजबाट २९ जना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोली मन्थली आउनेछ। लामो समयदेखि रामेछापका विपन्न बिरामीहरूलाई काठमाडौँमा उपचारका लागि सहजीकरण गर्दै आएका भट्टराईले यस पटक गाउँमै विशेषज्ञ सेवा ल्याउन पाउँदा खुसी व्यक्त गरे। उनले आर्थिक रूपमा कमजोर नागरिकहरूलाई प्राथमिकता दिँदै जटिल समस्या भएका बिरामीहरूलाई आवश्यकता अनुसार थप उपचारका लागि समेत पहल गरिने बताए।
पछिल्लो समय केएमसी अस्पताल र रामेछापका स्थानीय तहहरूबीचको समन्वयमा बिरामीहरूले पाउने सहुलियतका विषयमा समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। अबदेखि रामेछापबाट थप उपचारका लागि केएमसी जाने बिरामीले सम्बन्धित वडाको सिफारिस लगेमा उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। विपन्न बिरामीको हकमा अस्पतालका सञ्चालक डा. सुनिल शर्माको विशेष सहयोगमा पूर्ण निःशुल्क उपचारको व्यवस्था समेत मिलाइँदै आएको भट्टराईले उल्लेख गरे।
दुर्गम र कुना–कन्दरामा रहेका नागरिकहरू उपचार अभावमा नतड्पियुन् भन्ने हेतुले आयोजना गरिएको यस शिविरबाट लाभ लिन रामेछापवासीका साथै छिमेकी जिल्लाका नागरिकहरूलाई समेत अस्पतालले आह्वान गरेको छ। यस अभियानले विशेष गरी दीर्घरोगी र आर्थिक अभावमा काठमाडौँसम्म जान नसक्ने बिरामीहरूका लागि ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।





