रामेछाप । रामेछापको शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेको जिल्लाकै पहिलो शिक्षा क्याम्पस श्री गौरीशंकर बहुमुखी क्याम्पसले एक अनुभवी पत्रकार एवं सामाजिक व्यक्तित्वको नेतृत्व पाएको छ । शनिवार सम्पन्न क्याम्पस सभाबाट नेपाल प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
लामो समयदेखि जिल्लाको पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय नयाँघरेको चयनले क्याम्पसको समग्र विकास र संस्थागत गरिमामा नयाँ आयाम थपिने विश्वास गरिएको छ । अग्रज पत्रकारको रूपमा स्थापित नयाँघरे नेतृत्वको नयाँ कार्यसमितिका सदस्यहरूमा भगवती खड्का कार्की, रुपा कार्की र सुनिल राय चयन भएका छन् ।
पूर्व जलश्रोत मन्त्री लक्ष्मण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसको वार्षिक नीति, कार्यक्रम तथा बजेट खर्चको बारेमा समेत विस्तृत जानकारी गराइएको थियो । प्रमुख अतिथि घिमिरेले नयाँ नेतृत्वलाई शुभकामना दिँदै क्याम्पसको प्राज्ञिक सुधारमा नयाँ कार्यसमितिको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
वि.सं. २०५७ सालमा स्थापना भई रामेछापको उच्च शिक्षामा जग बसालेको यस क्याम्पसमा हाल शिक्षा तथा मानविकी संकाय अन्तर्गतका विभिन्न विषयहरू पठनपाठन हुँदै आएका छन् । पत्रकारिता क्षेत्रको सफल नेतृत्व सम्हालिसकेका नयाँघरेको आगमनसँगै क्याम्पसको प्रशासनिक पारदर्शीता र शैक्षिक गुणस्तरमा थप सुधार आउने अपेक्षा स्थानीयले गरेका छन् ।





