दोलखाको भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार राति भएको उक्त दुर्घटनामा वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको ज्यान गएको हो। चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र ०२–०६२ प ८४८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा८०प ७९७३ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो। मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा वैतेश्वर गाउँपालिका–२ का २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका–६ का १९ वर्षीय विवेक थामी गम्भीर घाइते हुनुभएको छ। घाइते दुवै जनालाई पशुपति चौलागाईं स्मृति अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




