नेपाली सुगम संगीतका चर्चित गायक तथा संगीतकार आशिष अविरल अमेरिकाको बाल्टिमोरमा कुटपिटबाट गम्भीर घाइते भएका छन्। कामको सिलसिलामा दुई स्थानीय व्यक्तिसँग भएको सामान्य विवादका क्रममा उनीमाथि निर्घात कुटपिट भएको हो।
आक्रमणबाट अविरलको आँखामुनिको हड्डी र नाक भाँचिनुका साथै आँखामा गम्भीर चोट लागेको छ। बाल्टिमोरस्थित ट्रमा सेन्टरमा उनको आकस्मिक शल्यक्रिया गरिएको उनकी श्रीमती गायिका सुशीला पाठकले जानकारी दिइन्। नेपाली समयअनुसार आइतबार बिहान अस्पतालबाट डिस्चार्ज भएका उनलाई चिकित्सकले केही साता घरमै आराम गर्न सल्लाह दिएका छन्। नाकको हड्डी बांगो देखिएकाले आगामी दिनमा उनको ‘राइनोप्लास्टी’ शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्ने चिकित्सकहरूले बताएका छन्।पुत्रलाभपछि नेपाल आएर केही साताअघि मात्रै अमेरिका फर्किएका संगीतकार अविरलमाथि भएको यस घटनाले नेपाली संगीत क्षेत्र स्तब्ध बनेको छ।




