लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीस्थित श्री माध्यमिक विद्यालय ज्यामिरेमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ । खाँडादेवी मिडिया ग्रुप प्रालिको आयोजना तथा लिखु तामाकोशी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो कार्यक्रममा विद्यालयको शैक्षिक एवं भौतिक अवस्था र शिक्षा क्षेत्रमा स्थानीय सरकारले गरिरहेका प्रयासबारे सरोकारवालाहरूबीच बृहत् बहस भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष केशव महतले विद्यार्थीहरूबाट आएका रचनात्मक जिज्ञासा र सुझावहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्दै अध्यक्ष महतले कक्षा १० का विद्यार्थीहरूले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएको खुसी व्यक्त गर्दै आफूले पनि विद्यालयका विद्यमान समस्या र आवश्यकताहरूलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, वडाध्यक्ष शिवप्रसाद न्यौपानेले गुणस्तरीय शिक्षाको खोजीमा ग्रामीण क्षेत्रबाट सहरतर्फ पलायन हुने प्रवृत्तिलाई रोक्न गाउँकै विद्यालयलाई अभिभावक र विद्यार्थीको पहिलो रोजाइको केन्द्र बनाउन आफूहरू प्रयासरत रहेको उल्लेख गर्नुभयो । बजेटको सीमितताका कारण सोचे अनुरूप द्रुत गतिमा विकास निर्माण गर्न केही कठिनाइ भइरहेको स्वीकार गर्दै उहाँले नागरिकले जनप्रतिनिधिलाई प्रश्न गरेर जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक होमबहादुर श्रेष्ठले विद्यालयलाई शैक्षिक आकर्षणको केन्द्र बनाउन आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहेको बताउँदै विद्यार्थीहरूले औंल्याएका सान्दर्भिक कमीकमजोरीलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न विद्यार्थी स्वयम् पनि उत्तिकै मिहिनेती हुनुपर्ने भन्दै उहाँले जनप्रतिनिधि, शिक्षक र विद्यार्थीको त्रिपक्षीय सक्रियता र कुशल समन्वयबाट मात्रै विद्यालयको मुहार फेर्न सकिने विचार राख्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले उठाएका विभिन्न शैक्षिक तथा भौतिक समस्या सम्बन्धी प्रश्नहरूको जनप्रतिनिधि र प्रधानाध्यापकले स्पष्ट पार्नुभएको थियो ।




