रामेछाप — सङ्घ र बागमती प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका बेला रामेछापका दुई नगरपालिका र छ गाउँपालिका आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रूप दिन अहोरात्र जुटेका छन्। संवैधानिक बाध्यता अनुसार आगामी असार १० गतेभित्रै बजेट ल्याउनैपर्ने भएपछि जिल्लाका आठ वटै स्थानीय तह आ-आफ्नो नगर र गाउँ सभाको तयारीमा व्यस्त भएका हुन्। सीमित स्रोत र साधनका बाबजुद नागरिकका जनअपेक्षा सम्बोधन गर्ने गरी पालिकाहरूले आ-आफ्नै रणनीति र प्राथमिकता तय गरेका छन्।
बजेट निर्माणको चटारोमा रहेका पालिकाहरूमध्ये लिखु तामाकोशी गाउँपालिकाले यस पटक उत्पादनमुखी आयआर्जन र सडक पूर्वाधारको स्तरोन्नतिलाई मुख्य जोड दिएको उपाध्यक्ष दीपा पाख्रिनले बताउनुभयो। त्यस्तै, सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले पुराना गौरवका योजनासँगै यस वर्ष थुप्रै जनमुखी कार्यक्रम थपिने जानकारी दिनुभयो भने दोरम्बा शैलुङ गाउँपालिकाले पनि ऐन नियमकै परिधिमा रहेर बजेटको गृहकार्य तीव्र पारेको छ।
प्राकृतिक स्रोत र हिमाली भेगको विशेषता बोकेको गोकुलगंगा गाउँपालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य र पर्यावरण अनुकूल पर्यटन पूर्वाधारलाई केन्द्रमा राखेको उपाध्यक्ष उषादेवी कार्कीले उल्लेख गर्नुभयो। जिल्लाको सदरमुकाम मन्थली नगरपालिकाले सहरी सुदृढीकरण, फोहोरमैला व्यवस्थापन र युवा स्वरोजगारलाई प्राथमिकता दिँदै बजेटको सिलिङ तय गरेको नगर उपप्रमुख ईश्वरी बस्नेतले स्पष्ट पार्नुभयो।
यसै गरी, रामेछाप नगरपालिकाले पुराना र नयाँ योजनाको सन्तुलन मिलाएर बजेट ल्याउने तयारी गरिरहँदा उमाकुण्ड गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने गरी कार्यतालिका मिलाएको उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिनुभयो। भौगोलिक विशिष्टताका आधारमा खाँडादेवी गाउँपालिकाले भने यस वर्ष कृषि र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी थालेको छ।




