सप्ताह लगाई बुद्धको मूर्ति बनाउने लक्ष्य नेपालकै पहिलो : अध्यक्ष मानन्धरको भनाई
असोज १२
रामेछापको सदरमुकाम मन्थलीमा शान्तिपार्क बनाउन स्थानीय उत्साहित भएका छन् । हालै सदरमुकाम मन्थलीमा बुद्ध र शिवको मूर्ति सहित शान्तिपार्क बनाउने लक्ष्य राखी लगाएको सप्ताहमा बिउ पुजी जम्मा भएपछि रामेछापका उद्यागी, व्यापारी र नागरिक समाज हौसिएका हुन् ।
सप्ताह महायज्ञ मूल समारोह समितिले आज मन्थलीमा पत्रकार सम्मेलन गरी पार्क बनाउने घोषणा गरेको हो । संघीयता कार्यान्वयनपछि मन्थलीको घट्दो व्यापार रोक्न र रामेछापलाई पर्यटकीय क्षेत्र बनाउन मूर्तिसहितको पार्क बनाउने लक्ष्य राखिएको समितिका अध्यक्ष चन्द्र मानन्धरले बताउनुभयो ।
पार्क निर्माणका लागि जग्गा र बजेट संकलन गर्ने काममा आफूहरु लागिपरेको समितिका कोषाध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो । यसका लागि स्थानीय, प्रदेश सरकारबाट ५० प्रतिशत र नागरिकतहबाट ५० प्रतिशत बजेट संकलन गरिने समितिका सचिव हरिशरण सुवेदीले जानकारी दिनुभयो ।
पत्रकार भेटमा भदौ २८ देखि असोज ५ गतेसम्म लगाइएको सप्ताहबाट ६ लाख ७० हजार रुपियाँ नगद संकलन भएको जानकारी गराइएको छ । हिन्दु परम्परा अनुसार सप्ताह लगाई बुद्धको मूर्ति बनाउने लक्ष्य लिइएको यो नेपालकै पहिलो धार्मिक कार्यक्रम भएका अध्यक्ष मानन्धरले दाबी गर्नुभयो ।