Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको गोकुलगंगामा कर्मचारीको मिलेमतोमा करोडौंको अनियमितता, धारा बनाउन ल्याएको सिमेन्ट निजी घर बनाउन प्रयोग,,

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
रामेछापको गोकुलगंगामा कर्मचारीको मिलेमतोमा करोडौंको अनियमितता, धारा बनाउन ल्याएको सिमेन्ट निजी घर बनाउन प्रयोग,,
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

माघ २०,

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालित खानेपानी र घट्टे खोला तटबन्ध योजनामा ब्यापक अनियमितता भएको पाइएको छ । पालिकाको ठोसे बजार र आसपासका बस्तीमा खानेपानीको चरम अभाव छ । फलस्वरुप स्थानीयहरु खिम्ती खोलाको पानी बोकेर खाइरहेका छन् । तर, ठोसेमा ३ वर्षदेखि ६ वटा खानेपानी योजनाहरु बनाउन सुरुगरेपनि काम अलपत्र परेर बसेका छन् । साविकको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रामेछापको इन्जीनियर नवराज सत्याल र ठोसेका स्थानीय महेशलाल प्रधानको मिलेमतोमा योजनाको पैसा हिनामिना गरेपछि खानेपानी योजनाहरु अलपत्र परेका हुन् ।

खानेपानी योजना अलपत्र परेपछि खिम्ती खोलाको पानी बोकेर खानुपरेको स्थानीय खड्गबहादुर कार्कीले बताउनुभयो । ठोसे खानेपानी योजना अन्तर्गत ट्यांकी निर्माण गरिएको छ । तर ट्यांकीमा पानी झरेको छैन । सम्बन्धित निकायलाई धारामा पानी कहिले झर्छ भनि सोध्दा धारामा पानी झरिसकेको बताउछन् तर रिजर्भ ट्यांकीमा पाइप लाइन नै जोडिएको छैन अर्का स्थानीय गंगाराम प्रधानले भन्नुभयो ।

खानेपानी योजना निर्माणमा काम गरेका कामदारलाई समेत पारिश्रमिक दिइएको छैन । खानेपानी कार्यालयको इन्जीनियर र स्थानीय महेशलाल प्रधानको मिलेमतोमा उपभोक्ता समितिका अध्यक्षलाई खाली चेकमा हस्ताक्षर गर्न लगाएर पैसा निकाल्दै खाएपछि, ठोसे खानेपानी योजना, गोब्रेटाहार खानेपानी योजना, सिंगटी खानेपानी योजना, थुम्की खानेपानी योजना, एकामफेदी खानेपानी योजना र लिसे खानेपानी योजना तीन वर्षदेखि अलपत्र परेका छन् ।

स्थानीय महेशलाल प्रधान र खानेपानी कार्यालयको मिलेमतोमा खानेपानी योजनामा क्रमागत बजेट हाल्ने र कामै नगरि बजेट निकासा गरेर खाने गरेको स्थानीयको आरोप छ । अलपत्र रहेको योजनाहरुको बारेमा खानेपानी कार्यालयमा बुझ्न जाँदा इन्जीनियर नवराज सत्यालले योजना सम्पन्न भइसकेको जवाफ दिएको उपभोक्ता सुरेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भनुभयो खानेपानीको अवस्था भद्रगोल छ सम्बन्धित अधिकारीलाई सोध्दा योजना सम्पन्न भएर उपभोक्ताले पानी खाइसकेको छ भन्छ, उपभोक्ता हामी नै हौं पानी कस्ले खायो हामीले थाहा पाउँन सकेनौ श्रेष्ठले बताउनुभयो ।

एक करोड ५० लाखको ठोसे खानेपानी योजनामा बीस हजार लिटरको एक रिजर्भ ट्यांकी र एक इन्टेक बनाएर ७१ लाख रुपैयाँ निकासा लिएर बाँकी काम अलपत्र छोडेको स्थानीय मनिराज कार्कीले बताउनुभयो ।
ट्यांकी निर्माणको लागि ल्याइएको सिमेन्ट र रड समेत उपभोक्ता समितिका ब्यक्तिहरुले निजी घर निर्माणको लागि प्रयोग गरेको कार्कीले बताउनुभयो । ठोसेमा सञ्चालीत खानेपानी योजनाहरु सबैको कोषाध्यक्ष एउटै ब्यक्ति बनाएर योजनाको पैसा झिक्दै खादै गरेको कार्कीको भनाई छ ।
इन्जीनियर नवराज सत्याल, स्थानीय महेशलाल प्रधान र खानेपानी योजनाको कोषाध्यक्ष आशाकाजी श्रेष्ठ मिलेर योजनाको पैसा हिनामिना गरेको कार्कीले दाबी गर्नुभएको छ ।

वडामा सञ्चालीत सबै खानेपानी योजनाहरुमा उपभोक्ता समितिको कोषाध्यक्ष एउटै ब्यक्ति बस्ने र सीमित ब्यक्तिहरु मिलेर योजनाको बजेट हिनामिना गर्ने गरेको स्थानीयको भनाई छ ।
उपभोक्ता समितिलाई योजनाको बजेटको बारेमा जानकारी नदिई समितिका अध्यक्षलाई बैंकको चेकमा हस्ताक्षर गर्न लगाएर पैसा निकासा गरि अपचलन गरेको स्थानीयको भनाई छ ।
अलपत्र रहेको खानेपानी योजनाहरुको बारेमा स्थानीय उपभोक्ताले खानेपानी कार्यालय र गाउँपालिकामा समेत पटक–पटक गुनासो राख्दा पनि सुनुवाई नभएपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् । स्थानीयले उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरि स्थलगत अध्ययन समेत गरिसकेको छ ।
स्थानीयले खानेपानी योजनामा अनियमितता गर्नेलाई कारबाहीको माग गर्दै उजुरी दिएपछि महेशलाल प्रधानले उजुरी दिनेको हातखुट्टा भाँची दिन्छु भनेर धम्क्याएको डबल बहादुर श्रेष्ठले सुनाउनुभयो । अख्तियारमा दिएको उजुरीको बोधार्थ गाउँपालिकाको कार्यालयमा दिएका थियौं त्यो उजुरीको प्रतिलिपी महेशलाल प्रधानको हातमा पुगेछ, त्यसपछि उहाँले धम्याउने काम गरिरहेका उहाँले सुनाउनुभएको हो ।

साविकको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रामेछाप तथा हालको प्रदेश खानेपानी कार्यालयका इन्जीनियर नवराज सत्यालले भन्नुभयो आर्थिक अनियमिततामा आफ्नो सम्लग्नता नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो पैसा निकासा भएको छ तर अनियमिततामा मेरो सम्लग्नता छैन ।

योजनाको पैसा अपचलन गर्ने कामको नेतृत्व गरेको भनि नाम जोडिएको स्थानीय महेशलाल प्रधानले पनि आर्थिक अनियमिततामा आफ्नो संम्लग्नता नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो म कुनै पनि उपभोक्ता समितिमा छैन, मैले पैसा खायो भनेर लगाएको आरोप झुठो हो उहाँले जिकिर गर्नुभयो ।

तीन वर्षसम्म पनि पाएनन् कामदारले ज्याला

साविकको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रामेछापद्धारा ठोसेमा सञ्चालीत खानेपानी योजनाहरुमा काम गरेका मजदुरहरुले तीन वर्ष बितिसक्दा पनि ज्याला पाएका छैनन् । तीन वर्ष पहिले खानेपानी योजना निर्माणमा काम गरेका कामदारहरुलाई कामको ज्याला नदिएको हो । स्थानीय महेशलाल प्रधानले उपभोक्ता समितिमा आपूmले भनेको मान्ने ब्यक्तिहरुलाई राखेर योजनाको रकम हिनामिना गरेको स्थानीयको आरोप छ । ठोसेमा सञ्चालीत ६ वटा खानेपानी योजनाहरु अधिकांशमा काम नगरिकन बजेट निकासा गरेको पाइएको छ । उपभोक्ता समितिका पदाधिकारीलाई योजनाको बजेट कति आएको थियो र कति निकासा भयो भन्ने समेत थाहा छैन । उपभोक्ता समितिका कोषाध्यक्ष मार्फत समितिका अध्यक्षलाई चेकमा हस्ताक्षर गर्न लगाई महेशलाल प्रधानले पैसा निकालेर खाएपछि कामदारलाई ज्याला दिन नसकिएको उपभोक्ता समितिका अध्यक्षहरुको भनाई छ ।
विकासको योजना आपूmले ल्याएको भन्दै महेशलाल प्रधानले योजनाको पैसा निकालेर खाएको र उनको विरोध गर्दा आएको विकास पनि फिर्ता पठाइदिन्छु भनि धम्क्याउने गरेको उपभोक्ताको गुनासो छ । गाउँमा आएको विकास पनि फिर्ता जाने डरले स्थानीय महेशलालको ज्यादती सहेर बस्न बाध्य छन् । खानेपानी योजनामा काम गरेका १ सय ५० जना भन्दा बढी मजदुरले तीन वर्ष बितिसक्दा पनि श्रमको मूल्य पाएका छैनन् । लिसे खानेपानी योजनामा २५ जना मजदुरले ५ दिनदेखि १ सय २५ दिनसम्म काम गरेका थिए तर ती मजदुरहरुले अहिलेसम्म ज्याला नपाएको कामदार डम्बरबहादुर खड्काले बताए । पटक–पटक पैसा माग्न जाँदा पनि नदिएको सोही योजनामा काम गरेकी चन्द्रमाया खड्काले गुनासो गरिन् ।

योजनाको बजेट कति हो ,उपभोक्ता समितिलाई थाहा छैन

योजनाको कुल बजेट कति हो भन्ने उपभोक्ता समितिलाई थाहा छैन । खानेपानी ट्यांकी निर्माणको लागि आवश्यक सिमेन्ट, गिटी र ढुवानीको पैसा समेत उपभोक्ता समितिले कामदारसँग उल्टो पैसा उठाएर तिरेका छन् । लिसे खानेपानी योजनामा काम गरेका २५ जना कामदारलाई ११ लाख ४७ हजार ५ सय रुपैयाँ ज्याला दिन बाँकी रहेको सोही खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर खड्काले बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष खड्काका अनुसार मिस्त्रीलाई दिनको ७ सय र अन्य कामदारलाई दिनको ५ सय ज्यालामा काम लगाइएको थियो । सो योजनामा ५ दिनदेखि १ सय २५ दिनसम्म काम गर्ने कामदाहरु रहेको उहाँले बताउनुभयो । खानेपानीको ट्यांकी निर्माणको लागि आवश्यक सिमेन्ट, गिटी र रड ढुवानी वापतको खर्च आपूmले ब्यक्तिगत रुपमा व्यहोरेको बताउनुभयो । आपूmले मात्रै ढुवानी भाडा तिर्न नसकेपछि कामदारसँग प्रतिब्यक्ति ८ सयका दरले पैसा उठाएर तिरेको उनको भनाई छ । योजनाको पैसा कति हो मलाई थाहा छैन । १ लाख ६० हजार रुपैयाँ उल्लेख भएको एउटा चेक र अर्को एउटा खाली चेकमा मलाई सही गर्न लगाए त्यो भन्दा पछि के भयो मलाई थाहा छैन उहाँले दाबी गर्नुभयो ।

त्यस्तै थुम्की खानेपानी योजनामा काम गर्ने कामदारको पीडा पनि उस्तै छ । २५ दिनदेखि ९४ दिनसम्म काम गरेका कामदारले ज्याला नपाएको कामदार केदार राउतले बताए । उपभोक्ता समितिका पदाधिकारीलाई आपूm समितिमा रहेको कुरा समेत जानकारी हुँदैन । गोब्रेश्वर महादेवथान खानेपानी योजनाका कोषाध्यक्ष पूर्णबहादुर खड्काले पैसा निकाल्ने बेलामा मात्रै आपूm योजनाको कोषाध्यक्ष भएको थाहा पाए । महेशलाल प्रधानले समितिको कोषाध्क्षमा राखिदिएको भन्दै चेकमा हस्ताक्षर गर्न लगाए । चेकमा हस्ताक्षर गर्न नमान्दा जबर्जस्ती हस्ताक्षर गराए । एक लाखको योजनामा कामै नगरि पैसा निकालेर ५० हजार रुपैयाँ मेरो भतिजलाई दिए, ५० हजार रुपैयाँ महेशलालले खल्तीमा हाले उहाँले सुनाउनुभयो । उहाँले बोल्दै थपे–काम भएको छैन अहिले पनि गएर हेरे हुन्छ, कामै नगरी पैसा निकालेर खाए ।

त्यतिमात्र हैन अन्य आयोजना मार्फत निर्माण गरिएका धारा देखाएर समेत पैसा खाएका छन् । जि.डब्लू.एस. गोरखा वेलफेयर सर्भिसले निर्माण गरेको धाराको फोटो देखाएर १५ लाख रुपैयाँ पैसा खाएको स्थानीयको दावि छ । गोब्रेटार खानेपानी योजनाको नाममा कुनै पनि काम भएको छैन । तर १४ लाख २२ हजार रुपैयाँ भुक्तानी लिएको भनि स्थानीयले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो

एउटा उपभोक्ता समितिको पदाधिकारीमा बसेका ब्यक्ति अर्को उपभोक्ता समितिमा बस्न नपाउने गरी गोकुलगंगा गाउँपालिकाले कार्यविधि बनाएको छ । तर, एउटै ब्यक्ति ३ वटा भन्दा बढी खानेपानी योजनामा उपभोक्ता समितिको कोषाध्यक्ष पदमा बसेका छन् । तीन वटा भन्दा बढी उपभोक्ता समितिको कोषाध्यक्ष बस्ने ब्यक्ति हुन् ठोसेका आशाकाजी श्रेष्ठ । उनी गप्तेश्वरी आधारभूत विद्यालय एकांमफेदीको शिक्षक समेत हुन् । कर्मचारीले उपभोक्ता समितिमा बस्नु हुन्न भन्ने थाहा नभएर उनी कोषाध्यक्ष बसेका होइनन् । योजनामा आर्थिक सेटिङ मिलाउन कोषाध्यक्ष बनेका हुन् । मलाई उपभोक्ता समितिमा बस्नु हुन्न भने थाहा थियो तर कटकबहादुर बस्नेतले कोषाध्यक्ष बस भन्यो अनि बसेको उहाँले जानकारी दिनुभयो ।
उनले खानेपानी योजनाहरुको कोषाध्यक्ष बसेर बिना काम पैसा निकासाको सेटिङ मिलाएका मात्र छैनन् । योजनाको नाममा आएको सिमेन्ट र रड बेचेर समेत खाएका छन् । योजनाको नाममा आएको निर्माण सामग्री आपूmले बेचेको उनले स्वीकार गरेका छन् । उहाँले भन्नुभयो मैले पनि किनेर नै ल्याएको हुँ अनि बेच्दा के भयो ।


कामदारलाई दिनुपर्ने पैसा आपूmलाई एकीन नभएको भन्दै जति दिनुपर्ने हो त्यति दिन आपूm तयार रहेको उहाँले बताउनुुभएको छ । स्थानीयको ठूलो दवाव परेपछि उनी कामदारलाई पैसा दिन तयार भएका हुन् । क्रमातग योजना भएकाले खोनेपानी योजनाहरुमा चालू आर्थिक वर्षमा समेत बजेट आएको बताएका छन् । योजनाको काम भने तीन वर्षदेखि अलपत्र छोडिएको छ ।
शिक्षा नियमावली अनुसार शिक्षकले उपभोक्ता समितिमा बस्न नमिल्ने गोकुलगंगा गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्णप्रसाद घिमिरेले बताउनुभयो । उपभोक्ता समितिमा बसी योजनाको बजेट अपचलन गर्ने शिक्षक माथि कारबाही हुने शिक्षा शाखाले जनाएको छ ।

घाट घरमा पनि घोटला

ठोसेको खानेपानी योजनामा मात्र होइन, ठोसेका स्थानीयले शव जलाउन प्रयोग गर्दै आएको खिम्ती खोलाको किनारमा शव राख्ने प्रयोजनको लागि निर्माण गरिएको घाट घरमा समेत घोटला भएको छ । घाट घर निर्माणको लागि ओखलढुङ्गाका रोषन सुनुवारलाई ९० हजार रुपैयाँमा ठेक्का दिएका थिए । ९० हजारको ठेक्का बाहेक ढुङ्गा, गिटी र बालुवाको छुट्टै पैसा दिने भनि काम लगाएका थिए । ढुङ्गा, गिटी र बालुवाको त हिसाब नै छैन । ९० हजार रुपैयाँको ठेक्का दिएको घाट घरको ५० हजार रुपैयाँ मात्र भुक्तानी भयो । तर, बाँकी ४० हजार रुपैयाँ तीन वर्ष वितिसक्दा पनि पाएका छैनन् रोषनले । पटक–पटक माग्दा पनि पैसा नदिएको उहाँको भनाई छ । धेरै पटक पैसा मागें, पैसा माग्न जाँदा एकपटक तीन चार झापड हिर्काए त्यसपछि पैसा माग्नै छोडे, अब त मैले त्यो पैसाको माया मारिसके रोषनले भन्नुभयो ।

घट्टे खोला तटबन्धको नाममा पनि लाखौं रुपैयाँ घोटला भएको छ । घट्टे खोलामा लगाइएको तटबन्धको पुरानो जालीको फोटो देखाएर वर्षेनी बजेट ल्याएर खाइरहेको स्थानीय फत्तबहादुर कार्कीले बताउनुभयो । तटबन्धको नाममा पुरानै जालीको ढुङ्गा झिक्दै राख्दै पैसा ल्याएर खाइरहेको कार्कीको भनाई छ । उहाँले भन्नुभयो – यो खोला केही ब्यक्तिको लागि कमाई खाने भाँडो भएको छ ।
त्यतिमात्र हैन प्रधानले हाइड्रोपावरमा शेयर हालिदिन्छु भन्दै स्थानीयलाई ठगेका छन् । गोकुलगंगा गाउँपालिका १ चुचुरेको गर्जाङ्गमा सञ्चालीत हाइड्रोपावरमा शेयर हालिदिन्छु भनि महेशलाल प्रधानले आपूmलाई ५० हजार रुपैयाँ ठगि गरेको ठोसेकी विन्दुकुमारी कार्कीले बताउनुभयो हाइड्रोपावरमा शेयर नहालेको थाहा पाएपछि पटक–पटक मागे दिन्छु–दिन्छु भन्छ तर पाँच वर्ष भइसक्यो आजसम्म पैसा फिर्ता दिएको छैन उहाँले पत्रकारसंग सुनाउनुभयो ।

स्थानीय तह निर्माण भइसकेपछि सञ्चालन गरिएका योजनाहरुमा अनियमितता नभएको गोकुलगंगा गाउँपालिकाको दावि छ । स्थानीय सरकार आउनु पहिले नै सञ्चालन गरिएको योजनाहरुमा अनियमितता भएको आपूmले पनि सुनेको भन्दै पैसा नपाएका कामदारहरुलाई पैसा दिलाउन पहल गर्ने गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताउनुभयो । ठोसेमा सञ्चालीत योजनाहरुको बारेमा स्थलगत अनुगमन भई प्रतिवेदन समेत आइसकेकाले अब छानविनको लागि अगाडि बढ्न रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बताउनुभयो । थप प्रमाणहरु खोज्ने काम भइरहेको र छानविनबाट अनियमितता भएको पुष्टि भएमा दोषिमाथि कानून बमोजिम हदैसम्मको कारबाही हुने पनि प्रजिअ केसीले बताउनुभयो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप जिल्ला प्रमुखको रुपमा रुद्रादेवी शर्मा आउने,को – को सरुवा भए (सूचीसहित)

Next Post

रामेछापको एक मन्दिरमा ढुङगाबाटै बज्छ मादल,जेमाग्याे त्यही पुरा हुने

Next Post
रामेछापको एक मन्दिरमा ढुङगाबाटै बज्छ मादल,जेमाग्याे त्यही पुरा हुने

रामेछापको एक मन्दिरमा ढुङगाबाटै बज्छ मादल,जेमाग्याे त्यही पुरा हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...