चैत्र, १
रामेछाप । रामेछाप जिल्लाका चर्चित लोक दोहोरी गायका प्रकाश कटुवाल थुनामा परेका छन् । तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । उनलाई शुक्रबार थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालत तनहुँले वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका थिए । आदेशलगत्तै गायक कटुवाललाइ जिल्ला कारागार चलान गरिएको छ । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।
गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा घाइते गुरुङकी छोरी सोनिकाले किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।
फागुन २ गते पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि वान्ता गरेपछि सोही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य भनाभन भएको थियो ।
सोही दिन साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले एक्कासी रडले आक्रमण गरेपछि सख्त घाइते भएका थिए । घाइते गुरुङको काठमाडौंमा उपचार गराएर घर ल्याइएको छ ।