असार २८
देशका विभिन्न भागमा आज पनि भारी वर्षा भइरहेको छ । विशेषगरी मुलुकका पूर्वी तथा मध्य क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ । काठमाडौंमा भने आंशिक वर्षा भएको छ । बिहीबारदेखि सुरु भएको भारी वर्षा भोलीसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलीसम्म पानी परिरहने भएकोले नदी किनार आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि मौसम विभागले आग्रह गरेको छ । भारी वर्षाका कारण कतिपय ठाउँमा बाढी र पहिरो आएको छ । मध्य तथा पूर्वी पहाडी र तराईका क्षेत्रमा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।

पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भागका केही स्थानमा र पश्चिमी भागको तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो डुबानमा परी आज दिउँसोसम्म २८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढीपहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १ –१ जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको छ । बाढीपहिरोबाट धनमाल समेत क्षति भएको छ। बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३–३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २–२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १–१ जना गरी २८ जनाको ज्यान गएको हो ।
यस्तै मकवानपुरमा ३ जना, काभ्रेमा २ जना खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी ११ जना घाइते भएका हुन् ।

सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १६ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य भइरहेको छ ।

यसैवीच बाढी र डुबानका कारण मोरङमा विस्थापित हुनेको संख्या दुई हजार नाघेको छ । मोरङका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण ४ सय ७६ परिवारका दुई हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरभित्रका बासिन्दा छन् । महानगरमा मात्रै २ सय ७३ परिवारका १ हजार ४ सय १३ जना विस्थापित भएका छन् । त्यस्तै नजिकका गाउँपालिकाहरु कटहरी, बुढीगंगा, जहदामा पनि बाढी र डुबानका कारण ५ सय ९७ जना विस्थापित भएका छन् । विस्थापित भएकाहरु विद्यालय, आफन्त तथा सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् ।

त्यस्तै बाराका बाढी तथा डुबान पीडित २५० घरपरिवारलाई सुरक्षित स्थानमा राखिएको छ । जितपुर सिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका, देवताल गाउँपालिका, विश्रामपुर गाउँपालिका र परवानीपुर गाउँपालिकाका विभिन्न गाउँबाट विस्थापित परिवारलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । विस्थापित परिवारलाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विद्यालय, धर्मशाला, हेल्थपोष्ट, मस्जिदमा राखेका छन् भने स्थानीयले खानाको प्रबन्ध गरेका छन् ।

त्यसैगरी भोजपुरको रामप्रसाद राई गाउँपालिका –५ मानेभञ्याङको तुनिटाङमा आज विहान गएको पहिरोमा एक घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीय मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढी तथा पहिरोका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाढी र पहिरोमा परी प्रदेश १ मा तीन जना बेपत्ता छन् । तीन दिनको अवधिमा दुई जना घाइते भएका छन् भने ४ हजार बढी विस्थापित भएका छन् । प्रदेश–१ को प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एकरएक गरी जम्मा ९ जनाको मृत्यु भएको हो । पाँचथर, झापा र मोरङमा एक÷एक जना बेपत्ता छन् । सुनसरी र खोटाङमा एकरएक जना घाइते भएका छन् । बाढी, पहिरो र डुबानका कारण प्रदेश भरी ४ हजार बढी बिस्थापित भएका छन् । सुनसरी र मोरङमा विस्थापित हुनेको संख्या उच्च रहेको प्रदेश प्रहरीले जनाएको छ । तराईका अधिकांश खोलामा बाढी आउँदा सयौं घर डुवानमा परेका छन् ।
यसैवीच सुनसरीमा ८१५ घर डुबानमा परेका छन् । डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, कोसी, बर्जु र देवानगन्ज गाउँपालिकाका जलमग्न भएका छन् । बाढी तथा डुबानका कारण जिल्लामा ३२५ घरपरिवार विस्थापित भएका छन् । बाढी प्रभावितहरुले बसोबासका लागि सुरक्षित स्थान र उचित सहयोगको माग गरेका छन् ।
उता प्रदेश २ को सरकारले बाढी पहिरोमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीनरतीन लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०र१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।
त्यस्तै दशगजामा रहेका भारतीय बाँधका ढोका भारतीय पक्षले नखोलेपछि रौतहट सदरमुकाम गौरसहित अधिकांश ठाउँ डुबानमा परेका छन् । दशगजामा लालबकैया र बाग्मती नदीलाई जोडेर बनाएको बाँध भत्केपछि भने पानीको सतह केही मात्रामा घटेको छ । दशगजामा भारतीय पक्षले बनाएको बाँध पानीको बेगले भत्काएको हो । बाँध वरपर भारतीय सीमा सुरक्षा बल९एसएसबी० ले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । भारतीय पक्षले भत्किएका बाँधहरु मर्मत गर्न थालेको छ । रौतहटको सदरमुकाम गौरमा घरको एक तलासम्म पानी भरिएको छ । गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयको एक तला पूरै पानीमा डुबेको छ । त्यस्तै गौरमा रहेका सरकारी कार्यालयहरु पनि पानीमा डुबेका छन् । भारतले विपदका बेला पनि बाँध नखोलेकोमा नेपाली नागरिक भने रुष्ट बनेका छन् ।

यसैवीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतसँग वार्ता गरेर तत्काल समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ । आज ट्वीट गर्दै उहाँले रौतहटको गौर र भारतको बैरगनियाँबीचको बाँधका केही ढोका तत्काल खोल्न भारतलाई आग्रह गर्नुपर्ने बताउनु भएको छ ।
त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले पनि वर्षाको समयमा सधैँ सीमापारिका बाँधले दुस्ख दिने गरेको बताउँदै प्रधानमन्त्री ओलीलाई समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गर्नु भएको छ ।