बैशाख ९,
काठमाडौं । विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २४ लाख ७८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ४५ हजार ७ सय २७ जना निको भएका छन् ।
१६ लाख ६२ हजारभन्दा धेरैको उपचार चलिरहेको छ । जसमध्ये ५६ हजार ७ सय २० जना गम्भीर अवस्थामा रहेका र बाँकी १६ लाख ५ हजार भन्दा धेरैको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ । १ लाख ७० हजार भन्दा धेरैको भने ज्यान गएको छ । यूरोपमा मात्र ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । ११ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । ३ लाख २१ हजार जना निको भएका छन् ।
स्पेनमा मात्रै २ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै इटालीमा २४ हजारभन्दा धेरैको ज्यान गएको । १ लाख ८१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा पनि २० हजारभन्दा धेरैको ज्यान गएको छ ।
यूरोपपछि उत्तर अमेरिका प्रभावित छ । त्यहाँ ८ लाख ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ, ४२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा १९ सय भन्दा धेरैको ज्यान गएको छ ।
उत्तर अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा धेरै निको भएका छन् । यसैगरी एसियामा अहिलेसम्म ३ लाख ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ लाख ८६ हजार निको भएका छन् भने १५ लाख १ सय ५ जनाको ज्यान गएको छ । एसियामा सबैभन्दा धेरै संक्रमित टर्कीमा छन् ।
त्यहाँ ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २१ सय भन्दा धेरैको ज्यान गएको छ । यसैगरी इरानमा ५२ सय भन्दा धेरैको ज्यान गएको छ भने ८३ हजार ५ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
नेपालको अवस्था यस्तो छ
नेपालमा कोभिड -१९ रोगबारे अहिलेसम्म कुल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ ।
पीसीआर विधिबाट आठ हजार ४१४ र आरडीटीबाट २५ हजार १४८ गरी कुल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा देशभर ३२४ वटा पीसीआर परीक्षण भएका छन् भने आरडीटी परीक्षण गराउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोना सङ्क्रमितको ३१ जनामध्ये चारजना निको भएर घर फर्किसकेका र छ भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।
आरडीटी सबै जिल्लामा सुरु भइसकेको छ । प्रदेश नं १ मा अहिलेसम्म दुई हजार ३४९, प्रदेश नं २ मा तीन हजार २३८, वाग्मती प्रदेशमा चार हजार ६७६, गण्डकी प्रदेशमा तीन हजार ७५१ जनाको परीक्षण गरिएको छ । यस्तै प्रदेश नं ५ मा दुई हजार ३२४, कर्णाली प्रदेशमा तीन हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ वटा आरडिटी परीक्षण भइसकेको छ ।”
क्वारेन्टीनमा बस्ने व्यक्तिको सङ्ख्या पाँच हजार ९३६ छ । आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या १११ छ । यसमध्ये उपत्यकाभित्र चारजना छन् भने उपत्यका बाहिर १०७ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर ९१११५ र ११३३० मा गत २४ घण्टामा दुई २८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।
गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नम्बरमा निःशुल्क कल सेन्टर सुरु भएको छ । त्यसमा कोरोनाबारे आफ्नो जिज्ञासा राख्न सकिन्छ । मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेब पेज कोभिड(१९ डट एमओएचपी डट जिओभी डट एनपीमा अहिलेसम्म आफ्नो स्वमूल्याङ्कनका लागि इन्ट्री गर्ने व्यक्तिको सङ्ख्या २१ हजार २९१ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ ।
यसमध्ये गएको २४ घण्टामा ४५७ जनाले आफ्नो स्वमूल्याङ्कन फाराम भर्नुभएको छ । जसमध्ये ३ जना रेडजोनमा भएको पाइएको छ । अहिलेसम्म कुल रेडजोनमा हुनेको सङ्ख्या २६३ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनका लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने कार्य भइरहेको छ ।
सरकारले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि उपलब्ध हुने गरी पीसीआर मेशिन उपलब्ध गराएको छ ।
आइतबार मात्रै उदयपुरमा थप ५२ जनामा पीसीआर नमूना सङ्कलन गरिएको छ । नमूनाको परीक्षण अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ ।
मन्त्रालयले क्यान्सर, डाइलासिस गर्नुपर्ने, मुटु रोगी, प्रसूतिसम्बन्धी जटिल र सुतकेरीसम्बन्धी रोग र दमलगायतका रोग र अन्य दीर्घ रोग सेवा दिइरहेका विशिष्ट प्रकृतिका अस्पताललाई सेवा निरन्तर सुचार गर्न आग्रह गरेको छ ।