(मकवानपुरको हेटौडामा जन्मनु भएका ‘राजाराम बर्तौला’ एकीकरण अघिको राप्रपामा सहायक महामन्त्री हुनुहुन्थ्यो । हाल पार्टीको युवा नेता बर्तौला प्रष्ट विचार राख्ने वक्ताका रुपमा चिनिनुहुन्छ । उहाँसँग संवार्ताकार उद्धव अविचलले गर्नुभएको कुराकानीको सम्पादित अंक– प्रधान सम्पादक)
तपाई राप्रपा पार्टीको एउटा जिम्मेवार व्यक्ति हुनुहुन्छ, अहिले तपाईंको पार्टी राज्यको पहिलो वैकल्पिक पार्टीको दाबी गरिरहेको छ । यसका आधारहरु के के हुन् ?
पार्टी भनेको सिद्धान्त र विचारबाट चल्ने र निर्देशित हुने हो । नेपालको राष्ट्रिय राजनीतिमा स्पष्ट विचार र अलग पहिचान बोकेका राजनैतिक दलको रुपमा राप्रपा क्रियाशील रहेको छ । हामी यो मुलुकलाई राजा सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, अधिकार सहितको स्थानीय स्वायत्त शासनबाट सबल, समुन्नत, स्वाधिन र समृद्ध बनाउन सक्छौँ भन्नेमा दृढ छाँै । नेपालमा जति पनि दल र शक्ति छन्, त्यो गणतन्त्र, सङ्घियता र धर्म निरपेक्षताको बाटोबाट आफूलाई अघि बढाइरहेका छन् । हामी त्यसको विकल्प प्रस्तुत गरेर अगाडि आएका छौँ । राष्ट्रियता, प्रजातन्त्रको विषयमा पनि हामी बडो स्पष्ट र दृढ छौँ । हामी देशभन्दा माथी केही हुन सक्दैन भन्नेमा विश्वास राख्छौँ भने प्रजातन्त्र प्रति हाम्रो अविचलित प्रतिबद्धता छ । भ्रष्टाचाररुपि महारोगबाट हामी देशलाई मुक्त गराउन चाहन्छौँ । विधिको शासनमा हामी विश्वास गर्छौ । मनपरी तन्त्र, ब्रम्हलुट होइन, विधि पद्धति र प्रणालीमा विश्वास गर्ने शक्ति राप्रपा हो । परिवर्तन बोलीमा होइन व्यवहारमा देखिनु पर्छ । पचासौँ लाख युवाहरुलाई विदेशका गल्लीमा भौतारिन बाध्य बनाउने होइन, समृद्ध नेपाल निर्माणमा जोड्नु पर्छ भन्ने शक्ति स्वभाविक रुपमा अरु भन्दा र वैकल्पिक हो नै । यसकारण राप्रपा एकमात्र सशक्त वैकल्पिक शक्ति हो ।
देशको सीमा मिचिएको पीडामा तपाईंको पार्टीले अवलम्वन गरेका नयाँ योजनाहरु के के छन् ?
मुलुकको सीमा अतिक्रमण हामी सहन्नौँ । हाम्रो वीर पुर्खाका रगत पसिना र बलिदानका कारण हामी कसैको दास बन्नु परेन । हाम्रो गौरवशाली इतिहास छ । हामी त्यो इतिहासलाई कदापि मेट्न दिदैनाँै । हामी छिमेकी देशसङ्ग मित्रवत सम्बन्ध राख्न चाहन्छौ तर हेपाहा र मिचाहा प्रवृत्तिलाई भने हामी स्विकार गर्न सक्दैनौँ । हामी हाम्रो एक इन्च पनि भूभाग मिच्न दिदैनौं, चाहे प्राणको आहुति दिनु किन नपरोस् । अहिले समस्या देखिएको छ, त्यो कुटनैतिक तवरले वार्ता र संवादबाट हल होस् भन्ने हाम्रो चाहना हो । त्यो हुन सकेन भने सीमा अतिक्रमणको विषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने धारणा रहेको छ ।
अहिले समस्या देखिएको छ, त्यो कुटनैतिक तवरले वार्ता र संवादबाट हल होस् भन्ने हाम्रो चाहना हो । त्यो हुन सकेन भने सीमा अतिक्रमणको विषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने धारणा रहेको छ ।
तपाईं र तपाईंको पार्टीको धारणा अनुरुप अब नेपालमा राजतन्त्र फर्किन्छ ?
नेपालको भू–राजनैतिक बनावट र राष्ट्रिय स्वाधिनताको रक्षाको निमित्त राजसंस्था आवश्यक छ भन्ने हाम्रो मान्यता हो । जहाँसम्म राजसंस्था फर्कन्छ कि फर्कदैन भन्ने सवाल छ, म त के भन्छु भने फर्कन्छ र फर्कदैन भन्दा पनि फर्काउनु पर्छ कि पर्दैन ? छातीमा हात राखेर आफूले आफैँलाई प्रश्न गराँै भन्न चाहन्छु । अहिलेको जुन राज्य व्यवस्था छ यसले मुलुकको स्वाधिनतालाई कमजोर बनाएको छ, भ्रष्टाचार र ब्रम्हलुटको जगजगी छ, शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था भयावह छ । गरिब जनताको पहुँचमा कुनै सुविधाहरु छैनन्, माफिया, विचौलिया र दलालहरुको बिगबिगी छ । नयाँ नयाँ छोटे राजाहरुको अवतार देख्न सकिन्छ । हामीले देश जोगाउन र बनाउनको निमित्त संविधान भित्रको राजसंस्था , अभिभावकको रुपमा परिकल्पना गरेका छौ । शासन जनताको छोराछोरीले गर्ने राष्ट्र प्रमुखको रुपमा राजसंस्था रहने प्रणालीको वकालत गरेका हौ ।
तपाईको पार्टी आवश्यक समयमा फुट्ने अनि अनावश्यक समयमा जुट्ने भन्ने आरोप छ, के यो आरोप सत्य हो ?
राप्रपाको टुट्फुट्को इतिहास विडम्बनापूर्ण छ । त्यो तितो यथार्थ हो । अहिले मुलुकले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको छ । त्यो परिपूर्ति गर्नको निमित्त हामी एक भएका हौं । हाम्रा नेताहरूले टुट्फुट् र विभाजनबाट धेरै पाठ सिकिसक्नु भएको छ, अब एकताको बलमा बलियो शक्ति निर्माण गर्ने हाम्रो अभियान छ । हिजोको कमी कमजोरी नदोर्होयाउने सङ्कल्प र कहिल्यै नफुट्ने प्रणका साथ हामी एक भएका हौँ । विचार, पार्टी र संगठन अबको प्राथमिकता हो । पार्टी भित्र नयाँ पुस्ताको पनि अब हस्तक्षेपकारी भूमिका रहन्छ । हामी पार्टीलाई एकजुट् बनाएर लैजान्छौ । राप्रपाको एकता कार्यकर्ताको भावना अनुरुप भएको छ, समयको माग बमोजिम भएको छ । यो चिरस्थायी हुन्छ ।
अहिले पनि राप्रपालाई नागरिकहरुले धेरै माया गर्छन् तर उति विश्वास गर्दैनन् नि किन ?
हामी राप्रपालाई विश्वासयोग्य, भरोसायोग्य र प्रचुर सम्भावनायुक्त शक्ति बनाउछौँ । इमानदारिता, निष्ठा र मेहनतको जगमा हामी राप्रपालाई उठाउँछौँ । कार्यकर्ता र जनताको माया, सद्भावलाई हामी डगमगाउनु दिन्नौँ । जन भावनासङ्ग मेल खाने गरी हामी आगामी दिनमा अघि बढ्नेछौँ । त्रुटी, कमी कमजोरीको समीक्षा सहित् हाम्रो यात्रा हुनेछ । जनमनमा बस्नको निमित्त हामीले सोही बमोजिमको काम गर्नेछाँै । व्यवहारबाट नै जनताको विश्वास जित्नेछौँ ।
राजतन्त्रलाई संरक्षण गर्नुपर्छ भनेर लाग्नु भएका तपाईहरुलाई पूर्वराजाको ठूलै आशिर्वाद् छ होला हैन ?
राजाले भनेर हामीले राप्रपा पार्टी खोलेका होइनौं । हामी सबैभन्दा पहिला राष्ट्रवादी हौ, राष्ट्रवादी भएकोहुँदा हामी राजावादी भएका हाँै । राप्रपा र हामीप्रति राजाको अवश्य पनि सद्भाव छ जस्तो लाग्छ । यो भन्दा राजाको हामीले धेरै सहयोगको अपेक्षा पनि गर्न हुन्न । राजा भनेको सबैको साझा हुनुपर्छ । हाम्रो मात्रै राजा बनाउन खोज्नु हुन्न, यसैले कुरो बिग्रने हो । राजा ल्याउनको निमित्त जनताको सहयोग र विश्वास अझै बढी आवश्यक पर्छ । त्यसैले जनताको चाहिँ अझै बढी सहयोग खोजौँ । राजाको सद्भाव सहयोग त सबैलाई हुन्छ नि !
अन्त्यमा, हाम्रो जनता भ्वाइस मार्फत तपाईं आफ्ना शुभचिन्तक हरुलाई के भन्न चाहनुहुन्छ ?
तपाईं र तपाईंको मिडियालाई यो अवसरको निमित्त हार्दिक धन्यवाद् दिन चाहन्छु । हामी सबै नेपालीको निमित्त पार्टी, वाद, विचारभन्दा देश माथि हुनुपर्दछ । देश रहे मात्र व्यवस्था रहने हो, प्रणाली रहने हो । अहिले कोभिड १९ ले सिङ्गो विश्व आक्रान्त छ । यो बेलामा हामी सचेत र सजग हुनुपर्छ । आफू पनि बच्ने र अरुलाई नि बचाउने अहिले हामी सबैको प्रमुख कार्यभार हो । कोरोना भाइरस विरुद्धको लडाइँमा हामी सङ्गै छौ । हामी ठूलो र अकल्पनीय समयमा छौँ । उच्च मनोबलका साथ यो लडाइँमा एकजुट् भएर लागौँ भन्न चाहन्छु ।
हवस् यहाँले दिनुभएको यो महत्वपूर्ण समय र संवादका लागि धन्यावद् ।
यहाँहरुलाई पनि विशेष धन्यवाद् । यहाँको यो मिडियाले नगरिकको प्रत्यक्ष चासो र सरोकारका विषयहरुलाई सदैव उठान गर्न सकोस्, शुभकामना ।