प्रकाश आचार्य
गजल १
- मलाई यो पानी र जिन्दगानी उस्तै उस्तै लाग्छ
- साधु सन्त र आफ्नै कहानी उस्तै उस्तै लाग्छ
- ईश्वरकै घरमा सिङ्गो जीवन बिताउने विचरा यी
- पुजारी र मदिराप्रेमीको बानी उस्तै उस्तै लाग्छ
- उकाली ओराली देउराली भञ्ज्याङ्मा एक्लै यात्रा गर्दा
- अचेल उनी बिनाको साँझ र बिहानी उस्तै उस्तै लाग्छ
- न सुन्छ न बुज्छ बिछ्यौनामा पल्टेका निर्जीव बस्तुले
- पीडा नसुन्ने मान्छेको मन र सिरानी उस्तै उस्तै लाग्छ
- जब पहरामा कुहिनो ठाेक्काए त्यो दिनबाट बुझे
- झुपडिकी सानी होस् या महलकी रानी उस्तै उस्तै लाग्छ
गजल २
- लजालु कर्के नजरले प्यारको संकेत गर्छ पक्का
- नजर मात्र हैन अझ अधर मन पर्छ पक्का
- वैशाखमा बेल पाक्छ जेठमा खान खोज्यौ भने
- कौवा बन्छौ तिमी अनि अवसर पनि टर्छ पक्का
- सूर्यमुखी फूल बनि सूर्यतिरै फर्कदा नि
- बिडम्बना भमराले नै कुमारीत्व हर्छ पक्का
- नछोड भो मौका तिम्ले चौका हान्नुपर्छ
- तिम्ले आँटे पक्का हुन्छ नत्र माया सर्छ पक्का
- पूर्णिमाको जून छोडि कालरात्री रोज्यौ भने
- चन्द्र भित्र लुकेको यो प्रकाश पक्का मर्छ पक्का
गजल ३
- न कुनै औषधी न कुनै उपचार हुन्छ
- जब हजुरकाे काेराेना जस्तै विचार हुन्छ
- कसरी पत्याऊ न्याय हुन्छ भनि यहाँ
- जब बाबु बाटै छाेरीकाे बलत्कार हुन्छ
- काे लाग्छ र अरुलाई सम्झाई बुझाई गर्न
- जब ऊ अाफ्नै जिन्दगी देखि दिग्दार हुन्छ
- लाग्नुस अझै लाग्नुस जिन्दगी सपार्न अाफ्नाे
- नत्र तपाईंको सिङ्गो ईतिहास लाचार हुन्छ
गजल ४
- बहिनीले दाईलाई भनेको…
- चढ बाइक बाउकै पैसामा आफूले कमाउन त्यत्तिकै हो
- डुलाऊ अर्काकै बूढी धत् आफ्नो बनाउन त्यत्तिकै हो
- गाँजा खाउ चुरोट खाउ जाउ रेष्टुरेण्ट तिर
- के गर्छौ त उमेर त्यस्तो काम समाउन त्यत्तिकै हो
- केटी कै पछि लाग छट्टु त्यत्तिकैमा मन बुझाउँदै
- शिर माथि रातो सिन्दूर थमाउन त्यत्तिकै हो
- जाउ क्याम्पस क्लास छोड पढ्ने बेला हैन नि यो
- बाउ छदै मोज गर पछि रमाउन त्यत्तिकै हो
- राम्रा केटी हेर अनि कल्पनामै विहे गर
- भद्र बनि चट्ट घरवार जमाउन त्यत्तिकै हो
गजल ५
- भगवानले मान्छे ,सृष्टि र यो तक्दिर बनायो
- मान्छेले त्यही भगवान राख्ने मन्दिर बनायो
- छोरा ठुलो होला र पाल्ला भन्ने अाशै आशामा
- बाबुआमाले सपनाको ठुलो तस्बिर बनायो
- छोरा ठूलो भयो र बाआमालाई वृद्धाश्रम पठायो
- मरेपछि त्यही छोराले पितृलाई चढाउने खीर बनायो
- पैसा कमाउने आशै आशा मा छोरो परदेशी हुँदा
- श्रीमती बाबुआमा समाजलाई ठूलो पीर बनायो