ऊ सडक हो,
त्यो सडक हो,
उसको कालोपत्रे आङ्माथि
डुक्रँदै उफ्रेका असङ्ख्य सयरका साधनहरु
घ्यार्रघुर्रगरि भयावहताको सङ्केत दिँदै
विनाशको बिगुल बजाउँदै,
फैलाउँदै फैलिदै विशालु धुवाँ
कँुदिरहेछ उसको आङ्माथि
चर्चराएका पाउहरु,
सडकको बिजारोपण गोरेटोबाट हुन्छ
यसैले सडक जन्मनुपूर्व देखि नै
डोजर आक्रान्त छ,
र त भन्छन्–
सडकको पुर्खा गोरेटो हो,
त्यसैले गोरेटो सडकलाई पीडा सुनाउँछ
भोक, रोग र सन्त्रास सबै सुनाउँछ
सुनाउँदा सुनाउँदै बहले छाती चिरिन्छ
भक्कानो भई फुट्छ उसको मन
अनि आफँैले आफैँलाई सम्हाल्न नसकी
गोरेटो जोडजोडले चिच्याउँछ
जुलुस गर्छ,
मशाल बोक्छ,
सिङ्गो संसारलाई तताउँछ
किनकि,
डोजरले बलात्कार ग¥यो
उसको सौन्दर्यमाथि
चोक्टा पार्दै चपाए उसको देह पनि
यसैले पनि उसका सन्तानहरु
आफ्नो पुख्र्यौली खोज्न
ब्यस्तताबाट जुर्मुरिदै ब्युँझिँदैछन्
जोड जोडले चिच्याउँदैछन्
यस्तो चिच्याहट सहन नसकी डोजर
गोरेटोमाथी क्रेन र ट्याङकरहरु तेस्र्याउँछ
र बौलाएको कुकुरले जथाभावी टोके झैँ
जताततै भत्काउँछ, भताभुङ्ग बनाउँछ
तर ऊ,
भत्किन्छ केवल क्षणभरको निम्ति
ऊ स्वाहाः हुन्छ क्षणिकताको निम्ति
अनि उठ्छ फेरि गोमनको टाउकोसरी
लम्बिन्छ, तन्किन्छ गोमनकै आङसरी
यसरी पीडा पोख्छ गोरेटो सडकलाई
र त सडक जन्मनुपूर्व नै
पुख्र्याैलीको पीडा सुन्छ
र गन्तव्यबोधलाई पहिल्याउन
साहसका साथ अघि बढ्छ
यसरी जन्मदै हुर्कदै अघि बढ्छ सडक ।
धन योन्जन
दोरम्बा रामेछाप





