असार ६, जनता भ्वाइस संवाददाता, रामेछाप
नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठको जन्मस्थल र यसको गरिमालाई वर्तमान कम्युनिष्ट सरकारले सौतेलो व्यवहार गरेको छ । जंघार तर्यो, लौरो बिस्र्यो भन्ने उखान जस्तै पुष्पलालको संघर्ष र तातो रगतको तापक्रममा महलको निद्रा निदाउन पाएका नेपाली कम्युनिष्ट नेताहरू स्वयं पुष्पलाललाई बिर्सिएर उनको ओठे भजन गाउन व्यस्त छन् यतिबेला ।हाल, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ८ मा पर्ने यो स्थानको नेपाल कम्युनिष्ट पार्टीले अत्यन्तै ठूलो अपमान गरेको फिल गर्न सकिन्छ ।अबको केही दिनमा असार १५ आउँदैछ । असार १५ अर्थात् दही च्यूरा खाने दिन । यही दिनमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान दबदबाको सोच जन्मिएको दिन हो– वि.सं. १९८१ साल । अर्तात् पुष्पलाल श्रेष्ठको जन्म सँगै ।
बाबु भक्तलाल र आमा तुलसीकुमारीको माहिला छोराका रुपमा जन्मिएका श्रेष्ठ वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् ।” भन्ने महान अभिव्यक्तिका कारण आज पुष्पलाल, पुष्पलाल भएको इतिहास छ ।
नेपाली कम्युनिष्टहरूको युगान्तकारी इतिहास बोकेको उनको जन्मस्थल रामेछापको भँगेरीलाई नेपाल कम्युनिष्ट पार्टीले घृणा गरेको भान हुन्छ । यहाँहरूले दृष्यमा दखिरहनु भएको झण्डा लगभग आयातकार आकारको झण्डा हो । तर यो झण्डाको आकार यतिबेला ३ चिरा परेर फर्फराई रहेको छ । रातो भुँइ र बिचमा सेतो रंगको हसिया हथौडाको चिन्ह अंकित यो झण्डा संरक्षण र जिर्ण परिर्वतनको अभावमा ३ चिरा परेको हो ।
हुन त यो स्थल पुष्पलाल स्मृति पार्कको रुपमा विकास गर्ने भनिएको छ । त्यो कहिले हुने र कसरी हुने भन्ने पनि उपल्लो तहमा छलफल हुँदै होला । तर आजको दिनसम्म पुष्पलालको जन्मस्थलमा पुग्दा यो झण्डाको आकार देखेर नै पुष्पलालप्रतिको वर्तमान नेपाल कम्युनिष्ट पार्टीको माया, श्रद्धा र सम्मानको स्पष्ट परिचय पाउन सकिन्छ ।
यो सत्य हो, यो ठाउँ पुष्पलाल स्मृति पार्कको रुपमा विकास गर्नका लागि स्थानीयहरूको जग्गा अधिग्रहणको क्रममा छ । जग्गा अधिग्रहणको कार्य चल्दैछ, अब आफैं बिचार गर्नुस् दर्शकवृन्द, कसरी चल्दैछ भन्ने कुरा । वर्तमान सरकारको वर्क स्पीड कस्तो छ भनेर हामीले भन्ने पर्दैन ।
स्मृति पार्क निर्माणका लागि कार्य प्रगति जस्तो भएपनि यो स्थानमा पुष्पलाललाई मनमनै ईश्वर मानेर पुज्न आउनेहरूको आँखा झण्डा देखेरै रसाउने गर्दछ, पुष्पलालको विराटताले होइन, विभत्सताले ।
मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले, यतिबेला देखिएको मैमत्ता नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
२००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उनको जीवनमा नयाँ मोड ल्याएको थियो । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गरेका थिए । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो ।
पार्टी प्रभाव बिस्तार गर्न २०१५ सालको आम चुनावमा बन्दीपुर र २०१७ सालमा तेह्रथुमको लिम्बुवान बजारमा श्रेष्ठ पुगेका थिए । २०१६ सालमा उनी सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष श्रेष्ठले चीनको समेत भ्रमण गरेका थिए ।
पुष्पलालको जन्मभूमिको यो हविगतलाई सकार्ने पहिलो दायित्व नेकपा रामेछापको भएपनि उनको विचार र नाम बेचेर सत्तामा पुग्नेहरू नै यो खबरबाट विल्कुलै बेखबर छन् । पुष्पलाल जन्मस्थल संरक्षणका नाममा समान्य ढुँगामा कुँदिएका बेरुपि स्केच भन्दा उनको लागि नेपाल कम्युनिष्ट पार्टीले केही गरेको छैन । गौरवशाली इतिहास र नेपाली राजनीतिको कोसेढुँगा बन्दै आइरहेको पुष्पलालको सोचको यहाँ यतिसम्म हुर्मत लिइएको छ कि, कम्तिमा डेट एक्सपायर भएर च्यातिएको झण्डालाई समेत फेर्न नेपाल कम्युनिष्ट पार्टी रामेछापले फुर्सद पाएको छैन ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय मदन नगर बल्खुलाई भलै आफ्नो पार्टीको झण्डा कहाँ च्यातियो भनेर हेर्ने फुर्सद नहोला तर बल्खु केन्द्रको रिमोटमा चल्ने गरेको रामेछाप पार्टी पंक्ति समेत यो कुरामा बेजानकार भई मन्थलीका चिया पसलहरूमा आदर्शको भजन गाएर बसिरहेको छ यतिबेला ।
पुष्पलालको सोच र चिन्तनले रामेछापका कति कम्युनिष्ट महामहिमहरूले महल ठड्याए भनेर लोखो लाउने हो भने दिन मात्रै होइन कयौं रातहरू छर्लङ्गै कटाउन सकिन्छ ।
सत्ता शक्ति र शासनको बागडोर हातमा बोकेर नेपाली कम्युनिष्ट विचारलाई संसारभर प्रत्याभूत गराउन १०–१० वर्षसम्म नेपाल आमाका सन्तानहरूको रगतमा होली खेलेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेलिनवादी (एमाले) मिलेर बनेको नेकपाले पुष्पलालको जन्मस्थलको उपहास गरिरहेका छन् । ‘जसको लागि गोठ बनायो उसकै पुच्छर बाहिर’ भन्ने उखानसँग ठ्याक्कै मेल खाने गरी नेपाल कम्युनिष्ट पार्टीले पुष्पलाललाई खोपाको देउता बनाउनु भन्दा बाहेक केही गर्न सकेको देखिँदैन । विश्वका धेरै कम्युनिष्ट नेताहरूको शवलाई आज पनि कयौं संग्राहलयहरूमा सुरक्षित राखिएको छ । आस्था, श्रद्धा र भक्तिले कम्युनिष्ट विचार बोक्नेहरूले उक्त शवलाई नियालुन् भनेर यस्ता शवहरू सुरक्षित राखिएको तथ्य कोही सामु लुकाउनु पर्दैन ।
तर रामेछाप जिल्लाको पुष्पलाल जन्मस्थललाई सिस्नुघारी भन्दा बाहेक केही बनाउन सकेन नेपाल कम्युनिष्ट पार्टीले, प्रविधि र विज्ञताको अभावमा उनको शव राख्नु त परै जावस् ।
२०१७ साल पौष १ गते घटेको नेपाली राजनीति इतिहासकै कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गराएका थिए । नेपाली काँग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती व्यवस्था समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो र यो निधन सँगै पुष्पलालको सोच बिस्तारै विस्तारै मर्दै गयो, जसरी पछिल्ला हाँचका मदन भण्डारी र मनमोहन अधिकारी रुपको दीयो निभे जस्तैगरि ।
पुष्पलालको जन्मस्थलमा ३ चिरा परेको झण्डाको आकार जस्तै भविष्यको नेपाल कम्युनिष्ट पार्टीको आकार पनि यही बन्ने त होइन ? यसको जवाफ भोलिको सूर्यले आफ्नो किरणसँगै लिएर पक्कै आउने छ ।





