जेठ १०,
काठमाडौं । नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार लिम्पियाधुरासहितको नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो । राजपत्रमा प्रकाशित भएको नक्सामा नेपाल सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
अब नयाँ नक्सा राजपत्रमा प्रकाशित भएसँगै सबै सरकारी कामकाज, किताबहरूमा पनि नेपालको नक्सा लागू हुनेछ। गत जेठ ४ गतेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । उक्त नक्सा गत जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेकी थिइन्। नयाँ नक्सा राजपत्रमा प्रकाशित भइसकेपछि नापी विभागले ३ हजार नेपालको नयाँ नक्सा छाप्ने तयारी सुरु गरेको छ ।
जेठ ११ गतेदेखि उक्त नक्सा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सबै संवैधानिक निकाय र मन्त्रालय तथा मातहतका कार्यालय, तथा कुटनीतिक निकायका कार्यालयहरूमा पठाउने तयारी भएको छ । फोटो मन्त्रालयको फेस्बुक पेज