रामेछाप,साउन २०
सोमबार श्रावण शुक्ल पन्चमी अर्थात नाग पन्चमी । हिन्दु धर्मावलम्वीले अस्टनागको पुजा गरी नाग पञ्चमी मनाइदै छन् । आजका दिन घरको मूलद्धारमा नागको तस्विर टाँसेर पूजा गरेमा वर्षदिन दुष्टको प्रवेश नहुने धार्मिक विश्वास रहिआएको छ । जलाशय पँधेरा, धारा कुवा , इनार लगायत पानीको मुहान स्रोतमा नागको बासस्थान रहने विश्वास रहिआएकाले आजको दिन पानी पँधेरामा पनि कपासको नाग बनाई दूध चढाई पूजा गर्ने चलन पनि रहेको छ ।
नागको पूजा गर्ने चलन वैदिक कालदेखि नै शुरु भएको मानिन्छ । विश्वभरका हिन्दूहरुले नागको चित्र आफ्नो घरको मूल द्वारमा टाँसी आज नाग पन्चमी मनाउने गर्दछन् । नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नाग दम्पती बनाइ गाईको दूध, कपासको प्यूरी, तील, लावा चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नाग बढी खुसी हुन्छन् भन्ने विश्वास रहेको छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डर समेत नहुने धार्मिक विश्वास रहेको पण्डित प्रसाद नारायण घिमिरे वताउनुहुन्छ ।
जलाशय पँधेरा, धारा कुवा , इनार लगायत पानीको मुहानमा नागको बासस्थान रहने विश्वास रहिआएको छ । आजको दिन पानी पँधेरामा पनि कपासको नाग बनाई दूध चढाई पूजा गर्ने चलन छ । नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ भन्ने पनि धार्मिक प्रचलन छ । नागको शिर भाद्र आश्विन र कार्तिक महिनामा पूर्व ऽ मंसिर पुस माघमा दक्षिण, फागुन, चैत्र, वैशाखमा पश्चिम र ज्येष्ठ, आषाढ, श्रावणमा उत्तर दिशातर्फ हुने पन्डितको भनाइ छ ।
आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । पञ्चमी तिथिमा भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले आज दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ नहुने जोतिषशास्त्रमा उल्लेख गरिएको नारायण प्रसाद घिमिरे वताउनुहुन्छ ।
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मान्ने गरिन्छ । विभिन्न पुराणहरुमा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक जरत्कारु र मनसादेवी सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको उल्लेख भएको पाइन्छ ।