असार १,रमन वन,
खोटाङ । खोटाङकोे सदरमुकाम दिक्तेल बजारको सडकले विगत लामो समयको पर्खाईपछि अब रुप फेर्ने भएको छ । सदरमुकाम भए पनि अव्यवस्थित सडक, हिउदमा धुलो र वर्खामा हिलोको कारण बाटो हिड्ने यात्रुहरु हैरानी खेप्दै आइरहेका छन्। तर अब सदरमुकाम दिक्तेलबजारभित्रका सडकहरुमा स्तरोन्नतिका लागि युद्धस्तरमा काम भैरहेको छ ।
लकडाउनकै समयमा पनिस्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सडक ढलान लगायतको कामलाई अगाडि बढाइएको नगरप्रमुख दिपनारायाण रिजालले बताउनुभयो। शहरी विकास तथा भवन निर्माण विभाग, प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक लगानीमा दिक्तेलबजारमा ढलानको काम शुरु भएको छ ।
आगामी आषाढ मसान्तभित्र काम सम्पन्न गर्ने गरी पहिलो चरणमा तीन खण्डमा वजार क्षेत्रमा सढक ढलानको काम भैरहेको जनाइएको छ । त्रिवेणीचोकदेखि भवन गैरा हुदै लोकसेवा आयोग सम्मको ढलानको काम खोटाङहलेसी फ्युचर जेभीले अगाडि बढाएको छ, जसका लागि नगरपालिकाले रु १ करोड तीन लाख वजेट विनियोजन गरेको हो । त्यस्तै शहरी विकासको ३ करोड ३९ लाख १० हजार बजेटमा दिव्यज्योती आरडि रोजन जेभीले रत्नपार्कस्थित किरातचोक नगरपालिका प्रवेशद्धारबाट पुरानो बेसक्याम्प खण्ड ढलान सुरु गरेको हो ।
दिक्तेलवजारको पुरानो बैंकचोकदेखि बाम्राङ झिसेपु मन्दीर जाने सडकको ढलान भने ८० प्रतिशत काम पुरा भएको छ , जुन काम प्रदेश सरकार र शहरी विकासकै ५८ लाख वजेटमा मुकुण्ड निर्माण सेवाले गरिरहेको हो । यता,दिक्तेलको भवनगैराबाट कृषि ज्ञानकेन्द्र झर्ने सडक ढलानका लागि नगरपालिकाबाट ५७ लाख बजेट व्यवस्था गरिएको मेयर रिजालले बताउनुभयो।
मालपोतदेखि लोकसेवा आयोगको कार्यालयसम्मको ढलानको काम शुभचन्द्र राई र भवनगैराबाट कृषि ज्ञान केन्द्र झर्ने सडक ढलानको काम सुवास आचार्य नेतृत्वको उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ । वजारभित्रका बाकी खण्डका काम पनि तत्काल शुरु गरिने जनाइएको छ । हाटडाँडाबाट वडा नं. ५ लफ्याङ जाने सडकको समेत स्तरोन्नतिका लागि काम भैरहेको नगरपालिका श्रोतले जानकारी गराएको छ ।





