असार १, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप जिल्लाका सम्पूर्ण विद्यालय मध्येमा शैक्षिक उपलब्धी तथा भौतिक श्रोत साधन सम्पन्नताका हिसाबले पहिलो नम्बरमा मन्थली माध्यमिक विद्यालय पर्छ । नमुनाका लागि अग्रसर भन्ने रटान यो विद्यालयले विगत लामो समयदेखि लगाउँदै आएको छ ।
पक्कै पनि, यो विद्यालय नमुनाका लागि अग्रसर छ । तर यस विद्यालयले गर्ने बेलाबेलाका क्रियाकलाप पनि साँच्चै नमुना जस्तै हुने गरेका छन् । यस्तै नमुना मध्येको एक प्रसङ्ग मन्थली माध्यमिक विद्यालयको यो सामग्रीमा रहेको छ ।
सरकारले लकडाउन खुकुलो पारेर ८४ दिनदेखि ठप्प भएको विद्यालयको प्रशासनीक कार्यसंचालन, विद्यार्थीहरुको अभिलेखिकरण, विद्यार्थीसँगको सम्पर्क तथा भर्चुअल अर्थात् श्रव्य–दृष्य प्रविधि मार्फत दूर शिक्षाको कक्षा संचालन गर्न अनुमति दिएको छ ।
आज अर्थात् २०७७ असार १ गतेबाट नेपालका सबै विद्यालयहरुमा यो निर्देशन लागु भएसँगै मन्थली मा.वि.ले पनि आफ्नो कार्यालयीय क्रियाकलाप संचालन गरेको हो ।
आज सरुकै दिन यो विद्यालयमा परीक्षा संचालन गरिएको छ । सुन्दा पनि अचम्म लाग्छ । तर वास्तविकता यही हो । यो विद्यालयमा आज कक्षा ८ र ९ नयाँ भर्ना हुन चाहने करिब ३५ जना विद्यार्थीहरुलाई कक्षाकोठामा नै बोलाएर प्रवेश परीक्षा लिएको छ ।
हुन त सरकारले २५ जना सम्मको भेलालाई अनुमति दिएको छ । तर सोही अनुमतिको आधारमा सायद हुनुपर्छ, यो विद्यालयले मन्थली आसपासका नयाँ भर्नाहुन चाहने बालबालिकाहरुको प्रवेश परीक्षा लिएको हो । कुनै बैठक तथा अन्य आवश्यक गतिविधिका लागि अनुमति दिएको २५ जना सम्मको सामुहिक उपस्थिति अनुमतिको फाइदा लिँदै यस विद्यालयमा आज परीक्षा नै संचालन गरिएको छ ।
करिब ३ महिनादेखि बालबालिकाहरु आफ्नै घरमा अभिभावकको प्रत्यक्ष निगरानीमा बसिरहेका छन् । विश्व स्वास्थ्य संगठनले बेलाबेलामा जारी गर्ने निर्देशनमा समेत दीर्घ रोगी, वृद्धवृद्धा तथा बालबालिकाहरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहने बताउँदै आएको छ । करिब ३ महिना सम्म अभिभावकहरुको निगरानीमा भएका बालबालिकाहरुलाई केके न गरौंला भने झैं गरी यो विद्यालयले हतार हतार प्रवेश परीक्षा लिएको हो ।
विद्यालयका प्राचार्य टंकप्रसाद दाहालले आफूहरुले उच्च सतर्कता र सामाजिक दूरी कायम गर्दै परीक्षा लिएको जनाएता पनि नेपाल सरकारले कुनै पनि परीक्षाहरु संचालन गर्न अनुमति दिएको छैन ।
झन् घरदेखि बजारको बाटो हुँदै परीक्षाकेन्द्र सम्म बालबालिकाहरु कोरोना भाइरसको जोखिम मोल्दै आउनु पर्छ । तर विद्यालय प्रवेश गर्दा अपनाएको उच्च सतकर्ताले सो विद्यालयको लाजमर्दो र उदाङ्गो चरित्रलाई पर्दाफास गरेको छ ।
जनता भ्वाइसले विद्यालयको यो प्रवृत्तिलाई प्रश्न गर्दा प्राचार्य दाहाल अभिभावकहरुले भर्नाको लागि पे्रशर दिएर आफूले त्यसो गरेको बताउँछन् ।
मन्थली नगरपालिकाको वडा नं. १ मा संथागत र सरकारी सामुदायिक माध्यमिक विद्यालयहरु कूल ५ वटा रहेका छन् । जसमा संस्थागत ३ वटा विद्यालयहरु आफूहरुले विद्यालयको वैकल्पिक पठनपाठन कसरी गर्ने भनेर योजना बनाइरहेको बेला यहाँ भने विद्यार्थी भर्ना गर्न हतार भएको छ, त्यो पनि प्रवेश परीक्षा गराएरै ।
राज्य पुनसंरचनापछि विद्यालयहरुको प्रत्यक्ष अनुगमन, नियमन र निर्देशन गर्ने काम स्थानीय सरकारलाई सुम्पिएको छ । कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिले कुनै पनि हालतमा विद्यालयहरुमा विद्यार्थीहरुलाई यो सघन अवस्थामा प्रवेश गराउनु हुँदैन भनेर कडाइकासाथ निर्देशन दिए पनि यो विद्यालयलाई प्रवेश परीक्षा गर्ने अनुमति कसले दियो ? के राज्यको नियम र निर्देशन यो विद्यालयले पालना गर्नु पर्दैन ? तर मन्थली नगरपालिकाको प्रत्यक्ष निगरानीमा भएको यो विद्यालयमा यो हविगत हुँदा पनि नगर शिक्षा प्रशासन यसमा बेखबर छ । नगर शिक्षा शाखाका प्रमुख सौभाग्य न्यौपाने यो विषयमा आफूहरुलाई आधिकारिक उजुरी वा जानकारी नआएको बताउँछन् ।
मन्थली नगरपालिका शिक्षा शाखाको प्रष्ट भनाई छ कि, कोभिड १९ को गाइड लाईन नीति निर्देशनमा इन्ट्रान्स लिने कुरा विल्कुल मेल खाँदैन । यो गर्नु हुँदैन ।
मन्थली माविले लिएको विद्यार्थी प्रवेश परीक्षा हालका दिनमा कोरोना भाइरससँग बढी केन्द्रीत भएको रामेछाप जिल्ला स्तरीय विपद व्यवस्थापन केन्द्रले पनि चासो देखाएको छ ।
मन्थली नगरपालिका शिक्षा शाखाको प्रष्ट भनाई छ कि, कोभिड १९ को गाइड लाईन नीति निर्देशनमा इन्ट्रान्स लिने कुरा विल्कुल मेल खाँदैन । यो गर्नु हुँदैन ।
मन्थली माविले लिएको विद्यार्थी प्रवेश परीक्षा हालका दिनमा कोरोना भाइरससँग बढी केन्द्रीत भएको रामेछाप जिल्ला स्तरीय विपद व्यवस्थापन केन्द्रले पनि चासो देखाएको छ । सो केन्द्रकी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा पनि यो परीक्षाको गतिविधिलाई स्वीकार्न तयार छैनन् ।
यस्तै जनता भ्वाइसले मन्थली माविले आज लिएको कक्षा ८ र ९ को प्रवेश परीक्षा लिन मिल्थ्यो कि मिल्दैनथ्यो भनेर शिक्षा विकास तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाललाई टेलिफोन मार्फत प्रश्न गरेका थियौं । दाहाल यो प्रक्रिया र पद्धति नितान्त अहिलेको अवस्थामा गलत भएको बताउँछन् ।
कोरोना भाइरस (कोभिड १९) को यस्तो सघन अवस्थामा पनि विद्यालयमा विद्यार्थी जम्मा पार्ने मन्थली माविको यो चालबाजी अब उदाङ्गो भइसकेको छ । मन्थली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव कार्कीसँग प्रवेश परीक्षाको विषयमा प्रतिक्रिया माग्दा आपूmलाई यस विषयमा थाहा नभएको र विद्यालयका प्रधानाध्यापकलाई सोधेर मात्रै बताउन सक्ने भन्दै उनी पन्छिएका थिए । कस्तो अचम्म अनि कति लज्जास्पद कुरा ? देश यतिबेला कोरोना कहरका बाँचिरहँदा मन्थली माविलाई विद्यार्थी र उनीहरुबाट आउने शुल्कको कत्रो चिन्ता ?
यस्तो महामारीपूर्ण अवस्थामा पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई विद्यालयको विषयमा थाहा नहुनु लाजमर्दो होइन र ?
सर्वसाधारणका छोराछोरीलाई बलिको बोका बनाउँदै विद्यार्थी भर्ना र प्रवेश परीक्षा गर्न यो विद्यालयलाई कसले छुट दियो ? यो प्रश्नको जवाफ शैक्षिक सरोकारवालाहरु प्रति लक्षित छ ।
सामुदायिक विद्यालयमा समेत शुल्क लिएर पढाउँदै आएको आरोप, विगतका वर्षमा लाग्ने गरेको भएता पनि शैक्षिक उन्नतिमा अग्रणी देखिएको यो विद्यालयले नेपाल सरकारको निर्णय मान्न नपर्ने हो त ? सर्वसाधारणका छोराछोरीलाई बलिको बोका बनाउँदै विद्यार्थी भर्ना र प्रवेश परीक्षा गर्न यो विद्यालयलाई कसले छुट दियो ? यो प्रश्नको जवाफ शैक्षिक सरोकारवालाहरु प्रति लक्षित छ ।





