असार ४
काठमाडौं । युभेन्टस पेनाल्टी सुटआउटमा हराउँदै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो ।
निर्धारित ९० मिनेटको खेल बिना कुनै गोल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। पेनाल्टी सुटआउटमा युभेन्टसका लागि पाउलो डिबाला र डानिलोले पेनाल्टी मिस गरेका थिए।
योसँगै नापोलीले अहिलेसम्म छैठौ पटक कोपा इटालीको उपाधि जितेको छ। त्यस्तै युभेन्टस १९औ पटक फाइनलमा पुगेको छ भने युभेन्टसले यस अघि १३ पटक उपाधि जितेको छ।
उता एक सय दिन पछि शुरु भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि सहज जीत् निकालेको छ। सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई तीन शून्यले पराजित गर्यो ।
खाली रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा सिटीले अग्रता बनायो। उसका लागि रहिम स्ट्रलिङले गोल गरे। पहिलो हाफमा एक गोलले पछि परेको आर्सनल दोस्रो हाफका सुरुवातमा नै १० खेलाडीमा झर्न पुग्यो ।
उसका डिफेन्डर डेविड लुइज विपक्षीलाई फल गरेपछि रातोकार्ड पाउँदै मैदानबाट बाहिरीए। जसका कारण पेप ग्वार्डियोलाको टिम सिटीले ५१ औं मिनेटमा पेनाल्टीबाट गोल अन्तर दुई शुन्यमा पुर्यायो ।
त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा सिटीले तेस्रो गोल थप्यो । सिटीका लागि फोडेनले गोल गरे। जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ। नवौं स्थानमा रहेको आर्सनलको ४० अंक छ।
त्यस्तै गएराति नै भएको पहिलो खेलामा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेले। Photo tweet





