असार ११, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप उद्योग वाणिज्य संघले मन्थली बजार पूर्णरुपमा खोल्नका लागि जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । बिहिबार संघले अध्यक्ष केशबप्रसाद घिमिरेद्वारा हस्ताक्षरित ध्यानकर्षण पत्र जिल्ला प्रशासनमा बुझाउँदै लकडाउनको कारणले व्यवसायीहरुमा पर्न गएको व्यवसायिक मर्काको बारेमा पूर्ण रुपमा आवाज उठाएको छ । संघले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ,
‘विश्वभर देखा परेको कोभिड १९ अर्थात् कोरोना भाइरसको विपतमा लकडाउनका कारणले रामेछाप जिल्लाका सबैखाले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसायमा विगत ३ महिना देखि भोग्दै आएको अप्ठ्याराहरुलाई समेतलाई आजका दिन सम्म पार गर्दै आएका छन् । यो समय कति सम्म रहन्छ भन्ने कुरा खासै एकीन हुन नसकेको अवस्थामा जिल्ला भरका सबै खाले उद्योगी व्यवसायीहरुको हितमा संस्थाले सकेको सहयोग गर्नुपर्ने अवस्थामा मन्थली वजारमा केही दिनदेखि यस संघबाट अनुगमन गर्दै आएको व्यहोरा अवगत गराउन चाहान्छौं ।
सोही सन्र्दभमा एक अर्का बीचको दूरी कायम भए नभएको, सेनिटाइजरको प्रयोग अनिवार्य भए नभएको, माक्र्स अनिवार्य रुपमा प्रयोग भए नभएको साबुन पानीले हातधुने व्यवस्था भए नभएको जस्ता सरकारले निर्धारण गरेका क्रियाकलापहरुलाई समेत संघबाट अनुगमन गर्दै आएका छौं ।
यसै सिलसिलामा २०७७ असार १ गते देखि बजार खुल्ने समय बिहानदेखि दिउँसो १ बजे सम्म मात्र रहेकोमा अब उप्रान्त पूर्ण रुपमा बजार खोली व्यवसाय सञ्चालनमा ल्याउने व्यवस्था मिलाई दिनको लागि सादर अनुरोध गर्दछौं ।
उद्योगी व्यवसायीहरुको हितमा ध्यान दिँदै बजारलाई भिडभाड हुन नदिइ विशेष गरी आर्थिक वर्ष समेत समाप्त हुन लागेको विशेष परिस्थितिमा यस कार्यले सहयोग पुग्ने देखिएको छ, दैनिक रुपमा बजारलाई बिहानदेखि साँझसम्म सञ्चालन गर्न गराउन दिन सकेमा मात्रै व्यवसायिक कर स्थानीय कर समेत तिर्नका लागि व्यवसायीलाई सहज पुग्ने देखिन्छ… ।
रामेछाप उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बुझाएको ध्यानाकर्षण पत्रमा आर्थिक वर्षको अन्त्य हुन लागेको अवस्थामा व्यवसायिक कर तिर्नका लागि भएपनि बजार खोलिदिन आग्रह गरिएको छ ।

