असार १७, जनता भ्वाइस संवाददता,
रामेछाप जिल्ला हुलाक कार्यालय, रामेछापमा सेवाग्राहीहरु दिनदहाडै ठगिने गरेको जनगुनासो आएपछि सोको सत्यतथ्यका लागि सेवाग्राही बनेर उक्त कार्यालयमा पुग्दा जनगुनासो शतप्रतिशत प्रमाणित भएको पाइयो । कुनै कार्यालयमा आवश्यक पर्ने ५÷१०÷१५… अर्थात् ५ को फरकमा पर्ने टिकट बापत्को शुल्क भन्दाबाहेक अन्य ५ को फरकमा नआउने खुद्रा टिकट शुल्कलाई खुद्रा पैसा नभई जबर्जस्ती टिकट नै थमाउने गरेको छ । जस्तो १३ रूपैयाँको टिकट किन्दा सेवाग्राहीले १५ रुपैयाँ दियो भने फिर्ता हुन आउने २ रुपैयाँको पनि यहाँ टिकट नै थमाउने गरिन्छ, कारण खुद्रा पैसाको अभाव भएको बहानामा । अहिलेको समयमा २ रुपैयाँ आफैँमा ठूलो पैसा होइन । तर कुरा २ रुपैयाँको भन्दा पनि प्रत्येक दिन खुद्रा पैसाको अभाव देखाउँदै २ रुपैयाँको दरले टिकट भिडाउने नियतको हो ।
ग्राहक बनेरै जनता भ्वाइसले एउटा चिठी रजिष्ट्री गर्न जाँदा चिठीको तौल १२ ग्राम भयो । जसको टिकट शुल्क २८ रुपैयाँ लाग्यो भने हामीले ३० रुपैयाँ तिर्दा २ रुपैयाँको टिकट किन्न बाध्य बनाइयो । जनता भ्वाइस जस्तै यस कार्यालयमा नागरिकता प्रयोजनका तथा अन्य प्रयोजनका लागि दैनिक सैंयौं ग्राहकहरु यस्ता खुद्रा टिकट किन्न आइपुग्छन् । अहिले समान्य रुपमा बजारमा बिक्दै गरेका ५ रुपैयाँ भन्दा माथिका नोटहरुको कारोबार भयो भने त ठिकै हो, तर बाँकी १ र २ रुपैयाँको कारोबार गर्न जाँदा टिकटै थमाइने मनोमानी प्रवृत्ति जिल्ला हुलाका कार्यालयमा हुने गरेको छ । राज्यलाई कर तिर्ने करैले हो । पाउनु न खानु, पर्पुरोमा चिनो भन्ने उखान जस्तै राज्यलाई कर तिर्न नेपालीहरु गर्वका साथ होइन करकापमै तिरीरहेका छन् भन्ने वास्तविकता झैं यहाँ पनि करकापमा नै २ रुपैयाँको राजस्व भिडाउने गरिएको छ ।
जनता भ्वाइसले आफूहरुलाई २ रुपैयाँको टिकट होइन, छ भने २ रुपैयाँ नै दिनुस्, होइन भने दिनु पर्दैन भन्दा सो कार्यालयकी किरण नाम गरेकी कर्मचारीले भनिन् ‘हामीसँग खुद्रा पैसा छैन कि मिलाएर दिनुस्, कि टिकट नै लानुस् ।’ भन्ने टर्रो जवाफ दिइन् । उनको जवाफ सुनेपछि हामीले भन्यौं, ‘यो त अन्याय भएन ? तपाईंले २ रुपैयाँको टिकटै थमाउँदा दूर दराज गाउँबाट आउने सेवाग्राहीहरु त ठगिए नि ? पत्रकार सम्मलाई त छोड्नुहुन्न तपाईंहरु ?’ यो सवालको जवाफमा किरणले भनिन् ‘मुद्दा हाल्नुस् र सो मुद्दा रजिष्ट्री गर्न पनि यहीँ अउनुहुन्छ । त्यो बेला पनि २ रुपैयाँको टिकट नै दिन्छु ।’ जिल्ला हुलाक कार्यालयकी कर्मचारी किरणले भनेजस्तै हुने हो भने दैनिक राज्यबाट टिकटको सेवा लिने सेवाग्राहीहरुले कति रकम करकापमै सरकारलाई बुझाउनु पर्ला ? हिसाबै गर्न सकिँदैन ।
त्यतिमात्र होइन । यस कार्यालयमा प्रवेश गर्नासाथ ढोकामा लेखिएको छ, ‘साबुन पानीले हात धोएर मात्रै प्रवेश गर्नुहोला ।’ यो सूचनालाई पच्छ्याउँदै हामी पनि धारोमा हात धुन पुग्यौं । जब एउटा सेतो रङको बाल्टीमा रहेको टुटी खोल्यौं, टुटीबाट पानी होइन केही थान कमिलाहरु हातमा परे । यही वास्तविकता सँगै सरकारी कार्यालयहरुको वास्तविकता जिल्ला हुलाक कार्यालयको नियतसँगै प्रष्ट हुन्छ । गाउँगाउँबाट आउने सामान्य सेवाग्राहीहरु दिनहुँ ठगिने र बेबकुफ बन्ने प्रवृत्ति कहिलेसम्म ? कुनै सरकारको पालामा समेत जवाफ आउन सकेको छैन ।





