असार २३, जनता भ्वाइस संवादाता, रामेछाप
जिल्ला ट्राफिक प्रहरी कार्यालयले मन्थली बजारमा भएको सवारीसाधन पार्किङको समस्यालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणलाई पार्किङ स्थल बनाउन लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले जनता भ्वाइसलाई जानकारी दिए अनुसार बजारको अस्तव्यस्त पार्किङ र नागरिकहरुको सास्तीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताएका हुन् ।
यस सम्बन्धमा थप प्रकाश पार्दै पाण्डे भन्छन्, ‘बजारमा मोटरसाइकल पार्किङ गर्न निकै समस्या भएको छ । यो समस्यालाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौं । तसर्थ नगरप्रमुखज्यू र वडाध्यक्षज्यूसँग समन्वय गरेर यो सरकारी जग्गालाई पार्किङ्का लागि प्रयोग गरिन लागेको हो । आजै मेशिन ल्याएर सम्याउन लगाई आजैबाट पार्किङ संचालन गर्ने योजना छ ।’
यस्तो कार्यले बजारको सवारी व्यवस्थापनमा केही सहज हुने देखिएको छ । हाललाई विशेष गरी मोटरसाइकलको पार्किङका लागि मात्र प्रयोग गरिने यस पार्किङ स्थललाई आवश्यकता हेरी अन्य साना चारपाङ्ग्रे सवारीलाई समेत पार्किङ् गराउन सकिने पाण्डेले जानकारी दिएका छन् ।